जीवनशैली

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका



सिरहा, १७ वैशाखः
लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो । मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।“आँखा नदेख्दा आफ्नै आँगनमा हिँड्डुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भन्नुभयो, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।”
यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उहाँकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि । बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिले यो दम्पतिलाई अरूकै सहारामा बाँच्नुपर्ने बनाएको थियो ।
बुधबार अस्पतालको शय्यामा उपचाररत ती ४७ जना बिरामीलाई भेट्न नगरप्रमुख महेशप्रसाद चौधरी आफैँ पुग्नुभयो । उहाँले बिरामीहरूलाई जुस वितरण गर्दै स्वास्थ्य लाभको कामना गर्दा बिरामीका आँखा कृतज्ञताले भरिएका थिए ।
“मैले सोचेको पनि थिइनँ कि सरकारले यसरी घरमै आएर आँखा जचाइदिन्छ र अस्पताल ल्याएर निःशुल्क अप्रेसन गरिदिन्छ”, हिरा चौधरीले हर्षित हुँदै भन्नुभयो, “अब संसार फेरि सफा देख्न पाउने भएँ । विस्तारै सबै दुःख बिर्सिंदै जानेछु ।”
मोतियाविन्दुमुक्त नगरको सपना
नगरपालिकाले विगत तीन वर्षदेखि अस्पतालसँग सम्झौता गरी यो अभियानलाई निरन्तरता दिँदै आएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार लहानलाई ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाइएको हो ।
“हाम्रो नगरमै एसियाकै उत्कृष्ट र आधुनिक प्रविधिसहितको सगरमाथा चौधरी आँखा अस्पताल छ । यति नजिकै सुविधा हुँदाहुँदै पनि हाम्रा नागरिक पैसाको अभावमा अन्धोपनमा बस्नुपर्नु निकै दुःखद कुरा हो,” नगरप्रमुख चौधरीले भन्नुभयो, “त्यसैले ‘कोही पनि नगरवासीले आर्थिक अभावका कारण ज्योति गुमाउनु नपरोस्’ भन्ने उद्देश्यले हामीले शिविरका सबै खर्च नगरपालिकाले व्यहोर्ने निर्णय गरेका हौँ ।”
उहाँका अनुसार चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाका २४ वडामध्ये १५ वटामा शिविर सम्पन्न भइसकेको छ ।
तथ्याङ्कमा अभियानको प्रभाव
लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीचको साझेदारी केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नभई दृष्टिविहीनता विरुद्धको एक सशक्त महाअभियानका रूपमा अगाडि बढेको नगरप्रमुख चौधरीले बताउनुभयो । नगरपालिकाले चालेको ‘मोतियाविन्दुमुक्त नगर’ बनाउने अठोटका कारण पछिल्ला वर्षहरूमा हजारौँ विपन्न नागरिकको जीवनमा उज्यालो फर्किएको उहाँको भनाइ छ ।
सगरमाथा चौधरी आँखा अस्पतालका शिविर संयोजक राजकुमार राउतका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा यस सहकार्यले उत्साहजनक सफलता हासिल गरेको छ । यहाँ सञ्चालन गरिएका विभिन्न शिविरमार्फत हालसम्म १७ हजारभन्दा बढी नगरवासीको निःशुल्क आँखा जाँच गरिएको छ । ती शिविरहरूमा मोतियाविन्दु पहिचान भएका करिब दुई हजार ५०० विपन्न बिरामीहरूको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको संयोजक राउतले जानकारी दिनुभयो ।
यस्तै, दृष्टिमा समस्या भएका आठ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क चस्मा तथा औषधि उपलब्ध गराइएको छ ।
लहानमा अवस्थित यस अस्पतालले स्थानीय स्तरमा मात्र नभई अन्तरराष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाएको छ । अस्पताल प्रशासनका अनुसार यहाँ नेपालका विभिन्न जिल्ला र छिमेकी देश भारतबाट समेत गरी वार्षिक रूपमा करिब २५ लाख आँखाका बिरामीहरूले विशेषज्ञ सेवा प्राप्त गर्दै आएका छन् ।
शिविर संयोजक राउत भन्नुहुन्छ, “हामीसँग दक्ष जनशक्ति र विश्वस्तरीय आधुनिक प्रविधि छ । विभिन्न स्थानीय तहसँगको समन्वयमा सञ्चालन हुने यस्ता शिविरहरूले अस्पतालसम्म आउन नसक्ने दुर्गम र विपन्न बस्तीका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पु¥याइरहेको छ ।”
नगरप्रमुख चौधरीको नेतृत्वमा अघि बढाइएको यो अभियानले आर्थिक रूपमा अति विपन्न र पछाडि पारिएका हरि सदा र हिरा चौधरी जस्ता सयौँ ज्येष्ठ नागरिकलाई नयाँ जीवन दिएको छ ।

–––

प्रकाशित : १७ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६