देश

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा



काठमाडौँ, १९ वैशाख

काठमाडौँ उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा वर्षौँदेखि जोखिमपूर्ण रूपमा बसोबास गर्दै आएका सुकुमवासीहरूका लागि पछिल्ला दिनहरू सकारात्मक हुने देखिएका छन् । सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्ने अभियान तीव्र भएसँगै त्यहाँ बस्दै आएका नागरिकहरूलाई तत्काल सुरक्षित आश्रयस्थल र व्यवस्थापनको काम भइरहेको सरकारले जनाएको छ । असुरक्षित बसोबास गर्दै आएकाहरू तत्कालका लागि केही असहज महसुस भए पनि भविष्यमा सुरक्षित आवासका लागि आशावादी रहेका छन् । रङ्गशालामा आफ्नो विवरण दर्ता गराइ सरकारको होल्डिङ सेन्टर पुगेका धेरैजसो नागरिकहरू आफूहरू असुरक्षित अवस्थाबाट सुरक्षित भविष्यतर्फ अघि बढ्दै गरेको महसुस गरिरहेको सुनाउनुहुन्छ । वर्षौँदेखि बाढी, डुबान र अनिश्चितताबीच बिताएको जीवनपछि अहिले उहाँहरूलाई आफ्नो सुरक्षित बासस्थानको व्यवस्था हुनेमा विश्वास जाग्न थालेको छ । बल्खु क्षेत्रमा विसं २०६० देखि बस्दै आउनुभएकी ६७ वर्षीया सुनिता चौधरी हरेक वर्ष बाढीको डरले आजित हुनुहुन्थ्यो । एक्लै बस्दै आउनुभएकी उहाँलाई अहिले सरकारको यस कदमबाट आफूलाई राहत मिल्ने अपेक्षा छ । “खोलाको किनारमा बनाइएको टहरो सुरक्षित थिएन । सरकारले राम्रो गरेको छ । असुरक्षित ठाउँमा बस्नुपर्ने बाध्यता हटेको जस्तो लागेको छ”, उहाँले भन्नुभयो, “वृद्ध हुँदै गएको छु । घर भाडा तिर्न सक्ने अवस्था छैन । अहिले साथीकोमा बस्दै आएकी थिएँ, अब सरकारले अस्थायी भए पनि बस्ने ठाउँ दिएको छ, म धेरै खुसी छु । आशा छ, म जस्तो सहाराविहीनलाई यो सरकारले सहारा दिनेछ ।” चौधरीले जीवन धान्न अन्यको घरमा सहयोगी काम गर्दै आउनुभएको छ । बाल्यकालमै आफ्नी दिदीको सहारामा काठमाडौँ आउनुभएको उहाँले आफूसँग अहिलेसम्म आफूसँग नागरिकताको प्रमाणपत्र नभएको गुनासोसमेत सुनाउनुभयो । “म एक्लै बस्दै आएको छु । सानो हुँदा आमाबुबा दुवै गुमाएँ । जीवनभर नागरिकता बनाउनसमेत सङ्घर्षरत गरिरहेको छु”, उहाँले भन्नुभयो, “अरूले कस्तो महसुस गर्दै छन् थाहा छैन । तर म खुसी छु । अब सुरक्षित भएर बाँच्न पाइन्छ भन्ने आशा लागेको छ ।” सुनिता चौधरी जस्तौ धेरै सुकुमवासीहरूको कथा उस्तै छ, जन्मदेखि नै अभाव, विकल्पको अभाव र जोखिमपूर्ण बसोबास । उहाँहरू भन्नुहुन्छ नदी किनारको बस्ती रोजाइ होइन, बाध्यता हो । सहरको विकाससँगै उहाँहरूको अस्तित्व ओझेलमा परे जीविकोपार्जनको सीमित अवसरले त्यही जोखिमपूर्ण स्थानमा बस्न बाध्य बनाइएको उहाँहरूको गुनासो छ । जोखिमपूर्ण बस्तीबाट सुरक्षित भविष्यतर्फको यो यात्रा केवल भौतिक स्थानान्तरण मात्र नभई वर्षौँदेखि उपेक्षित समुदायको सम्मान र स्थायित्वतर्फको एउटा महत्त्वपूर्ण कदम हुने बताउनुहुन्छ ४१ वर्षीय पासाङ तामाङ । वंशीघाटको सुकुमवासी बस्तीमा वर्षौँदेखि बस्दै आउनुभएका तामाङ र उहाँको परिवार आशावादी हुनुहुन्छ । त्यसका लागि सरकारले प्रतिबद्धता गरे जस्तै व्यवस्थापनको काम चाहि तत्काल हुनुपर्ने उहाँको भनाइ छ । सुकुमवासी बस्तीमा हरेक वर्ष वर्षायाम त्रासको मौसम बन्न पुग्थ्यो । हरेक वर्ष बाढीको डरले आजित भइसकेका तामाङ परिवार सुरक्षित विकल्पका लागि तयार भएको बताउनुहुन्छ । “यहाँ बस्दै आएको धेरै समय भयो । पक्की घर भए हरेक वर्ष वर्षामा डुबानको समस्या थियो”, उहाँले भन्नुभयो, “हामीले धेरै सरकार देखिसक्यौँ, यसअघिका सरकारले केही व्यवस्था गरेनन् । अहिले भने राम्रोसँग व्यवस्थापन हुन्छ भन्ने आशा गरेका छौँ ।” आफ्नो गर्भवती श्रीमती, दुई बच्चा र वृद्ध बुवा/आमासँग अहिले सानो कोठा भाडामा लिएर बसिरहेको उहाँले सुनाउनुभयो । सरकारबाट उचित व्यवस्थापन हुने विश्वासले उनीहरूलाई नयाँ ठाउँमा जान तयार बनाएको छ । “नानी र बाबुको खानापानको चिन्ता छ, श्रीमती पनि गर्भवती छिन् । त्यसैले समूहमा कोठा लिएर बसेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले राम्रो व्यवस्था गर्छ भने हामी सेन्टरमा जान तयार छौँ । निकट भविष्यमा घर बनाइदिएमा झन राम्रो हुन्थ्यो ।” शुक्रबार वंशीघाटमा आफ्नो सामान ओसारपसार गर्नेमा व्यवस्था २६ वर्षीया अप्सरा मल्लिक उत्तिकै आशावादी देखिनुहुन्थ्यो । उहाँ पाँच सदस्यीय परिवारसहित लामो समयदेखि यस्तै बस्तीमा बस्दै आउनुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण विकल्प नभएपछि नदी किनारकै बस्तीमा बस्न बाध्य भएको सुनाउने उहाँले बसाइँसराइसँगै केही व्यावहारिक चिन्ता व्यक्त गर्नुभयो । “अहिले सरकारले असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा लैजाने भएपछि खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सरकारले राम्रो व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको छ, त्यो पूरा हुन्छ भन्ने विश्वास छ । मेरो एउटा बच्चाको विद्यालय यही भएकाले अहिले केही असहज होला कि भन्ने लागेको छ । बाँकी दुई बच्चाहरूको पढाइको राम्रो व्यवस्था भयो भने हामी अझै खुशी हुने थियौँ ।” अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको पछिल्लो सङ्कलित तथ्याङ्कअनुसार वाग्मती नदी किनारमा अव्यवस्थित घरपरिवारको सङ्ख्या ३ हजार ४५९ रहेको छ । उहाँहरूलाई तत्काल राख्नका लागि राधास्वामी सत्संग व्यास आश्रम, कीर्तिपुर, गोङ्गबु बसपार्क, माछापोखरी क्षेत्रका होटल, नेपाल विद्युत् प्राधिकरण केन्द्रको भक्तपुर खरिपाटीस्थित तालिम केन्द्र र बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र होल्डिङ सेन्टरका रूपमा सञ्चालन गरिएको हो । —

Powered By  Orson Infotech

प्रकाशित : १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६