ब्रेकिंग न्युज

प्रतिनिधिसभाः योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह



काठमाडौँ, ३१ वैशाख

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले आगामी निर्वाचनमा संसारभर छरिएर रहेको नेपालीको मताधिकार सुनिश्चित गर्ने मतदान पद्धतिको विकासलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन प्रस्ताव गर्नुभएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल गर्दै उहाँले राजनीतिक पहुँच र तजबिजी अधिकारको अन्त्य गर्दै पूर्वाधार आवश्यकताका सूचकाङ्कको गणितीय अङ्कभारका आधारमा मात्रै पुँजीगत बजेट विनियोजन गर्ने नीति अङ्गीकार गर्न आग्रह गर्नुभयो । “हरेक योजनाको छनोट र खर्च प्रणालीलाई सार्वजनिक ‘डिजिटल ड्यासबोर्ड’मा आबद्ध गरी पारदर्शी बनाइयोस् । नागरिकले प्राप्त गर्ने सबै सरकारी सेवा तोकिएको समयभित्रै पाउने व्यवस्था गर्न ‘टाइमकार्ड’ लागू गरिने नीतिगत व्यवस्था गरियोस्”, सांसद आचार्यले भन्नुभयो । उहाँले सेवा प्रवाहमा ढिलाइ गर्ने र जिम्मेवारी पन्छाउने कर्मचारीमाथि निगरानी राखी कार्यसम्पादनमा आधारित जवाफदेहीता संयन्त्र बनाउन सुझाव दिनुभयो । सांसद आचार्यले देश र जनताको भविश्य उज्ज्वल बनाउने अभिभारा बोकेका सांसदको वृत्तिविकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेट्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरियोस्”, उहाँले भन्नुभयो । संसद्मा उठेका प्रश्नको हिसाबकिताब, सांसद र नागरिक दुवैले पारदर्शी रूपमा थाहा पाउनुपर्नेमा सांसद आचार्यले जोड दिनुभयो । “यसपटकको नीति तथा कार्यक्रमले ‘डिजिटल ड्यासबोर्ड’ निर्माण गर्ने विषयलाई समेटोस्, जसले कुन सांसदले के विषय उठाए, कसको ध्यानाकर्षण गराए र सो विषयमा कुन र के प्रक्रिया अघि बढाइयो भन्ने आमनागरिकले प्रत्यक्ष ‘ट्रयाकिङ’ गर्न सकुन”, उहाँले भन्नुभयो । सांसद आचार्यले जनअपेक्षाअनुसार काम गर्न नसक्ने जनप्रतिधिलाई उनीहरूको कार्यकाल नसकिँदै जनताले फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’को अवधारणालाई संस्थागत गर्न आवश्यक संरचनात्मक र नीतिगत व्यवस्थालाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । —

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६