प्रेसपाटी, ३ जेठ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको नेतृत्व चयन प्रक्रियामा सहमति र सहकार्यको सन्देश झल्किएको छ । बैंकको सञ्चालक समितिमा देशका छ प्रदेशबाट प्रतिनिधित्व गर्ने उम्मेदवारहरू निर्विरोध निर्वाचित भएसँगै सहकारी क्षेत्रभित्र आपसी एकता, विश्वास र संस्थागत स्थायित्वको सकारात्मक संकेत देखिएको हो ।
बैंकका अनुसार कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमलादेवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णु बराल, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा तथा सुदूरपश्चिम प्रदेशबाट मनमोहन विष्ट निर्विरोध सञ्चालकमा निर्वाचित हुनुभएको छ ।
बैंकको विधानअनुसार सातवटै प्रदेशबाट एक–एक जना गरी सात जना सञ्चालक निर्वाचित हुने व्यवस्था रहेको छ । साथै एक जना सहकारी विज्ञ र एक जना बैंकिङ विज्ञलाई सञ्चालक समितिबाट मनोनित गर्ने प्रावधान रहेको छ । निर्वाचित सात सदस्यहरू मध्येबाट एक जनालाई अध्यक्ष चयन गरिने व्यवस्था छ ।
लेखा सुपरीवेक्षण समिति सर्वसम्मत
राष्ट्रिय सहकारी बैंकको लेखा सुपरीवेक्षण समिति पनि सर्वसम्मत रूपमा चयन भएको छ । समितिको संयोजकमा तारा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यमा युवराज पोख्रेल र ममता कुमारी साह निर्विरोध चयन हुनुभएको बैंकले जनाएको छ ।

लेखा सुपरीवेक्षण समितिका सदस्यमा निर्वाचित युवराज पोख्रेल सहकारी अभियानमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी दुई कार्यकाल सफलतापूर्वक सम्हालि सक्नुभएको छ । दुई दशक भन्दा बढी समयदेखि विभिन्न जिम्मेवारीमा रही सहकारी अभियानमा निरन्तर सक्रिय रहँदै आउनुभएका पोख्रेलको अनुभवले समितिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सहमति र सर्वसम्मतिबाट नेतृत्व चयन हुनु सहकारी क्षेत्रका लागि सकारात्मक अभ्यास मानिएको छ । यसले संस्थागत सुशासन, सहकार्यको संस्कृति र साझा नेतृत्व मार्फत सहकारी अभियानलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ ।









प्रतिक्रिया