देश

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा



काठमाडौँ, ३ जेठ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहेको बताउनुभएको छ । ‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो । “पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पङ्क्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरु जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु”, सभापति थापाले भन्नुभयो । सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताउनुभयो । उहाँले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको बताउनुभयो । अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरेको जानकारी दिँदै उहाँले त्यसमा पनि कतिपय सदस्य समेट्न सकिने बताउनुभयो । पार्टीभित्रका नेतालाई अवसर दिने विषयमा आफू प्रष्ट रहेको उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, “को विशेष महाधिवेशनबाट आएको हो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा हुँदैन ।” देशभर रहेका क्रियाशील सदस्यलाई पार्टीको सदस्यता अद्यावधिक गर्नसमेत सभापति थापाले आग्रह गर्नुभयो । पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो । ठूलो जनसमर्थनका साथ गठन भएको वर्तमान सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक विषय भएको उहाँको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायलाई प्रधानमन्त्री केन्द्रित नबनाउन महामन्त्री पौडेलले सुझाव दिनुभयो । कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो । उहाँले आयोगले संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उल्लेख गर्नुभयो । संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको नेता केसीको भनाइ थियो । “कुनै पूर्वप्रधानन्यायाधीशको अथवा राष्ट्रले चिनेको संविधानविद् र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्, संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्र विन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ”, नेता केसीले भन्नुभयो । समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घका अध्यक्ष सीताराम केसी र शेरबहादुर केसी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार गोकर्ण अर्याल, डा वासुदेव भण्डारीलगायतले मुलुकको समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : ३ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६