देश

घोराही-तुलसीपुर चारलेनः विद्युत् र रुख हटाउँदै



तुलसीपुर (दाङ), १३ असार

यहाँको घोराही-तुलसीपुर सडक चारलेन बनाउन जिल्लास्थित वन डिभिजन कार्यालयले रुख कटानको आदेश दिएपछि रुख हटाउन थालिएको छ । वन कार्यालयका सूचना अधिकारी भक्तबहादुर चौधरीका अनुसार घोराहीबाट तुलसीपुरसम्म ५९ वटा रुख काट्नु पर्नेछ । सोहीअनुसार अहिले रुख काट्ने कार्य भइरहेको छ । घोराही-तुलसीपुर खण्डमा २० वटाभन्दा बढी पिपलका रुख काट्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । विद्युत्का खम्बा हटाउने र रुख काट्ने काम सकिएपछि चारलेनको सडक निर्माणले गति लिने निर्माण कम्पनी श्री दिवाबन्दना भगवती जेभिका इञ्जिनियर सुनिल ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार केही स्थानमा विद्युत्का खम्बा पनि हटाइ सकिएको छ । अब घोराहीको सर्रा क्षेत्र र तुलसीपुर क्षेत्रमा विद्युत्का खम्बा हटाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । विद्युत्का खम्बाका कारण काम रोकिनुपर्ने अवस्था नभएको इञ्जिनियर ढुङ्गानाले बताउनुभयो । अहिलेसम्म चारेलनको १५ प्रतिशत काम पूरा भइसकेको जनाउँदै उहाँले अहिले वाल, कल्भर्ट र नाली निर्माणले गति लिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार घोराहीको डिके पेट्रोलपम्पबाट तुलसीपुरको हातीखौवासम्म चारलेन सडक बन्नेछ । सोही स्थानमा सडकको क्षेत्र छुट्याउने काम भइसकेको जनाउँदै इञ्जिनियर ढुङ्गानाले उक्त सडक २१ दशमलव ५८ किमी कालोपत्र तथा चौडाइ चारलेनको हुने उल्लेख गर्नुभयो । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेन हुने उहाँले बताउँदै बजार क्षेत्रमा फुटपाथसहितको चारलेन र अन्य स्थानमा चारलेन मात्रै सडक हुने जानकारी दिनुभयो । “स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइनेछ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रको काम सुरु हुनेछ”, इञ्जिनियर ढुङ्गानाले भन्नुभयो । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडक मार्ग परियोजनामार्फत ठेक्का सम्झौता भएको थियो । निर्माण अनुगमनको जिम्मा सडक डिभिजन कार्यालय दाङले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक ‘अस्फाल्ड’ प्रविधिबाट कालोपत्र हुने इञ्जिनियर ढुङ्गानाले जानकारी दिनुभयो । “यसमा ढुङ्गा, गिट्टी र बिटुमिन तार मिसाएर कालोपत्र गरिने भएको यो सडक थप मजबुत बन्नेछ”, उहाँले भन्नुभयो । सम्झौता भएको मितिले ३६ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार गत २४ असारमा भ्याटबाहेक रु दुई अर्ब २४ करोड ५६ लाखमा सम्झौता भई काम सुरु भएको हो । सोही सडक चारलेन बनाउन यसअघि भएको सम्झौता निर्माण कम्पनीले काम नगरेपछि रद्द गरिएको थियो । ठेक्का रद्द भएपछि विसं २०८१ साउनदेखि नयाँ प्रक्रिया सुरु गरिएको थियो । तत्कालीन अवस्थामा अर्थ मन्त्रालयको स्रोत सहमति तथा राष्ट्रिय योजना आयोगको निर्णयानुसार रु तीन करोड ९९ लाख ४९ हजारको बहुवर्षीय ठेक्कामार्फत काम गर्ने सहमति भएको थियो । सोहीअनुसार मदन भण्डारी राजमार्ग निर्देशनालयबाट लागत अनुमानका काम भएर बोलपत्र आह्वान भएको थियो । उक्त सडकबीचमा पर्ने सेवार खोला, हापुर खोला, ग्वारखोला र कालाखोलामा चारलेनको पुल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रकाशित : १३ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६