देश

गुल्मीका किसानलाई गाई स्याहार भत्ता



गुल्मी, १३ असार

पहिलागाउँघरका प्रत्येक गोठमा देखिने स्थानीय जातका गाई अहिले लोप हुँदै गएका छन् । किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो । स्थानीय जातका गाईपालनमा किसानलाई आकर्षित गराउने उद्देश्यले यहाँको मदाने गाउँपालिका–१ अग्लुङ्मा स्थानीय लहिनो जातका गाई संरक्षणका लागि किसानलाई प्रतिगाई वार्षिक रु दुई हजार स्याहार भत्ता वितरण गर्न सुरु गरिएको छ । गाउँघरबाट विस्तारै हराउँदै गएको स्थानीय गाई जोगाउँदै पुनःगाईपालनतर्फ आकर्षित गर्र्नेे उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष सुशील चन्दले बताउनुभयो । स्थानीय गाई लोप हुँदै गएपछि यसको प्रत्यक्ष असर धार्मिक संस्कारदेखि कृषि क्षेत्रसम्म पर्दै आएको उहाँको भनाइ छ । पहिला गाउँघरमा मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा थियो । तर अहिले भने पुरोहितले गाई लैजान छाडेसँगै गाईको सट्टामा नगद दिने चलन बढेको वडाध्यक्ष चन्दले जानकारी दिनुभयो । धार्मिक कर्मका लागि आवश्यक पर्ने गाईको गोबर र गोमूत्रसमेत खोज्नुपर्ने अवस्था आएको भन्दै उहाँले गाईपालन व्यवसाय घट्दै जाँदा धार्मिक संस्कार, संस्कृति र परम्परामा प्रत्यक्ष असर पर्दै जान थालेको बताउनुभयो । “पहिला हरेक घरमा गाई पाल्ने प्रचलन थियो, अहिले दिनभरि गाउँमा घुम्दै जाँदा गोठहरू खाली देखिन्छन् । अहिले गाउँघरमा स्थानीय जातका गाई भेटाउन मुस्किल छ, गोबर र गौमूत्र खोज्न टाढा जानुपर्ने बाध्यता छ । वडाले दिएको यो स्याहार भत्ताले गाई जोगाउनका लागि थोरै भए पनि हौसला मिलेको छ”, स्थानीय नरबहादुर विष्टले भन्नुभयो । स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन् । अहिले स्थानीयतहले गाई संरक्षण कार्यक्रम अघि बढाउँदा किसान पनि उत्साहित बनेका छन् । वडाध्यक्ष चन्दले स्थानीय गाई संरक्षण गर्नुपर्ने पाका पुस्ताको मागअनुसार यस्तो कार्यक्रम सुरु गरिएको बताउनुभयो । “गाई हाम्रो मौलिक सम्पत्ति हो, यसको संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न स्याहार भत्ता वितरण सुरु गरेका हौँ, आउँदा वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने हो”, उहाँले भन्नुभयो । स्थानीय गाईको दूध, गोबर र गौमूत्र मानव स्वास्थ्य, जैविकखेती तथा धार्मिक कार्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । हिन्दू परम्परामा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलने छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कारमा गाईबाट प्राप्त वस्तुको प्रयोग हुने भएकाले यसको संरक्षण धार्मिक तथा सांस्कृतिक रूपमा पनि उत्तिकै आवश्यक रहेको स्थानीयको भनाइ छ । स्थानीयतहले थालेको यो अभियानले किसानलाई आर्थिक प्रोत्साहनसँगै लोप हुँदै जान थालको परम्परा र संस्कृतिको संरक्षण तथा सम्वर्द्धनमा थप टेवा पुग्ने स्थानीय राधा कुँवरले बताउनुभयो । यसलाई संरक्षण र प्रवर्द्धन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित : १३ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६