देश

धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण



तुलसीपुर (दाङ), १५ असारः

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ । संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उहाँले भन्नुभयो, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।” तुलसीपुर–४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ती, अरनिको टोल, बरुवागाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहरलगायत स्थानमा यसरी ट्याङकरबाट वितरण गर्ने गरिएको छ । तुलसीपुरमा एक करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको भए पनि हाल ५० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ । मुहान सुक्दा समस्या यसरी खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु नै रहेको कोषाध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार हाल खानेपानीको दगेरा, बाख्रेको मुहान सुकेको छ । ती तुलसीपुर खानेपानीका अस्थायी मुहान रहेका छन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट, चिसापानीको मुहानमा पानीको सतह घटेको छ । विगतभन्दा पानीको सतह घटेका कारण आपूर्तिमा समस्या रहेको कोषाध्यक्ष थापाले बताउनुभयो । त्यस्तै, तुलसीपुर–६ कभर्डहल नजिकको डिपबोरिङसमेत सुकेको छ । गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा पनि पानीको सहत घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा छ हजार लिटरको ट्याङ्कर भरिने गरेको भए पनि हाल उक्त ट्याङ्कर भरिन ३५ मिनेटभन्दा बढी समय लाग्छ । पढ्ढाका दुईवटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै, विद्युत् अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजार बढी धाराहरू छन् ।

प्रकाशित : १५ असार २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६