कपिलवस्तु १६ असार
बाणगंगा नगरपालिका–१, सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सव एक कार्यक्रमका साथ सम्पन्न गरेको छ।
वार्षिकोत्सवका अवसरमा संस्थाले शुभकामना तथा कृतज्ञता सन्देश जारी गर्दै स्थापना कालदेखि सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयनका लागि निरन्तर कार्य गर्दै आएको जनाएको छ।
संस्थाले पाँच वर्षको अवधिमा उत्पादन, बजारीकरण, बचत तथा ऋण परिचालन, सदस्य सेवा, रोजगारी सिर्जना, कृषि तथा उद्यमशीलता विकास, सहकारी बजार सञ्चालन, कोसेली घर, प्राङ्गारिक मल उत्पादन, आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय स्रोत–साधनको उचित परिचालन जस्ता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गरेको छ।

संस्थाले बाणगंगा नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाबीच भएको एकीकरणपछि आफ्नो बहुउद्देश्यीय भूमिकालाई अझ प्रभावकारी बनाउँदै सदस्यमैत्री सेवा विस्तारमा जोड दिएको जनाएको छ । नेपाली मौलिकता, स्थानीय आवश्यकता र सदस्यहरूको विश्वासलाई केन्द्रमा राखेर संस्थागत विकासलाई अगाडि बढाइएको संस्थाको भनाइ छ।
सहकारीलाई समयानुकूल, सुशासित, पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउने प्रतिबद्धता दोहोर्याउँदै संस्थाले सहकारी मापदण्डको पूर्ण कार्यान्वयन, प्रविधिमैत्री सेवा विस्तार तथा सदस्यहरूको आवश्यकता अनुरूप कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले सदस्यहरूको माया, विश्वास, सुझाव र निरन्तर सहयोगकै कारण संस्था पाँच वर्षको सफल यात्रा तय गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकारी अभियानलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै सदस्य तथा समुदायको समृद्धिका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वार्षिकोत्सवका अवसरमा संस्थाले शेयर सदस्य, सहकारी अभियन्ता, शुभेच्छुक, नियामक निकाय, स्थानीय तह, सरोकारवाला तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र विश्वास कायम रहने अपेक्षा गरेको छ।

“समृद्धिका लागि सहकार्य “ भन्ने मूल नारालाई आत्मसाथ गर्दै अगाडी बढेको सहकारीको वार्षिकोत्सवले सहकार्य, पारदर्शिता र सदस्यहितलाई केन्द्रमा राख्दै सहकारी अभियानलाई थप उर्जाशील बनाउने सन्देश दिएको संस्थाले जनाएको छ।









प्रतिक्रिया