खोज–अनुसन्धान

जलवायुजन्य चुनौती सामना गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक छः मन्त्री चौधरी



काठमाडौँ, १७ असार

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक विपद् तथा खाद्य सुरक्षामा देखिएका चुनौतीप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले हिमनदीहरू तीव्र पग्लिने क्रम, हिमताल विस्फोटको जोखिम, जैविक विविधताको क्षयजस्ता विषयमा विश्वको ध्यानाकर्षण गराउनुभएको हो । संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगको वातावरण तथा विकास समितिको थाइल्याण्डको बैंककमा भएको नवौँ मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उहाँले ती विषयमा ध्यानाकर्षण गराउनुभएको हो । मन्त्री चौधरीले जलवायु न्याय, पर्याप्त र सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास तथा अनुकूलनका लागि नेपाललाई थप अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । नेपालले वातावरण संरक्षण, जैविक विविधता, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, हरित अर्थतन्त्र तथा दिगो विकासका क्षेत्रमा हासिल गरेका महत्त्वपूर्ण उपलब्धिहरू उहाँले प्रस्तुत गर्नुभएको थियो । मन्त्री चौधरीले नेपाल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने नेपालले जलवायु परिवर्तनका गम्भीर असर भोगिरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको सफल सामुदायिक वन व्यवस्थापन कार्यक्रम, जलवायुमैत्री कृषि, नवीकरणीय ऊर्जाको प्रवर्द्धन तथा प्रकृतिमा आधारित समाधानलाई क्षेत्रीय तथा विश्वव्यापी रूपमा अनुकरणीय अभ्यासका रूपमा प्रस्तुत गर्नुभएको थियो । नेपालजस्ता अल्पविकसित, भूपरिवेष्ठित तथा पर्वतीय मुलुकहरूले उत्पादन गरेका वातावरणमैत्री तथा जैविक उत्पादनहरूलाई अन्तरराष्ट्रिय बजारमा सहुलियतपूर्ण, प्राथमिकतापूर्ण तथा सहज बजार पहुँच उपलब्ध गराउनुपर्ने उहाँको जोड थियो । आजदेखि सुरु भई तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकका क्रममा मन्त्री चौधरीले सम्बोधन गर्नुका साथै विभिन्न उच्चस्तरीय कार्यक्रममा समेत सक्रिय सहभागिता जनाई नेपालको दृष्टिकोणहरू राख्नुभएको थियो । मन्त्री चौधरीले संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव आर्मिडा साल्सिया आलिस्जाहबानासँग भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी, मन्त्री चौधरी र बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल आवाल मिन्टूबीच द्विपक्षीय भेटवार्ता भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो भेटमा द्विदेशीय वातावरण, वन, जैविक विविधता संरक्षण, जलवायु परिवर्तन, जैविक अर्थतन्त्र, विपद् जोखिम न्यूनीकरण तथा दक्षिण सहकार्यका क्षेत्रमा साझेदारी थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो । दुवै मन्त्रीहरूबीच जलवायु न्याय, जलवायु वित्त, अनुकूलन, क्षति तथा नोक्सानीलगायत विषयमा विकासशील तथा जलवायु जोखिमयुक्त मुलुकको साझा आवाजलाई अन्तरराष्ट्रिय मञ्चहरूमा थप सशक्त रूपमा उठाउने विषयमा समेत सहमति भएको थियो ।

प्रकाशित : १७ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६