देश

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी



काठमाडौँ, ४ कात्तिकः

मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बन्नुभएको छ गोेरखाका इन्जिनियर कुमार लामिछाने । काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन गरी मासिक रु १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल हुनुभएको छ । गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आउनुभएको हो । उहाँले रु १० करोड लगानीसहित मासिक रु एक लाखका दरले जम्मा छ रोपनी जग्गा भाडामा लिई गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । सुरुमा ३० वटा भैँसीबाट व्यवसाय सञ्चालन गर्नुभएका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैँसी रहेका छन् । “इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर सङ्गीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैँसीपालन व्यवसाय गरेको हुँ । यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उहाँ भन्नुहुन्छ । इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी तथा बाँकी दुध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्रीवितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो । लामिछानेका अनुसार हाल भैँसीको दूधको मूल्य प्रतिलिटर रु १७० र गाईको रु १०० छ । गाई र भैँसीको दुध दुहुन मेसिन जडान गरिएको छ । उहाँको फार्ममा हाल प्रतक्ष एवं अप्रतक्ष रुपमा ५० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक रु ४५ देखि ५० लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर रु १५ लाख बचत हुने गरेको उहाँले बताउनुभयो । गाई र भैँसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुनेगरेको उहाँको भनाइ छ ।

प्रकाशित : ५ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६