प्रदेश

प्राविधिक र व्यवहारिक शिक्षा आजको आवश्यकता :मन्त्रि पोख्रेल



काभ्रे ९ फाल्गुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्नुपर्ने आवश्यकता रहेका बताउनुभएको छ । अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखि नेपाली’को नारालाई साकार पार्न दक्ष जनशक्ति उत्पादन गरेर मात्रै सम्भव भएकाले त्यसतर्फ सिंगो मुलुक केन्द्रीत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।‘शिक्षालाई श्रमसंग, श्रमलाई सीपसंग र सीपलाई उत्पादन र रोजगारीसंग जोडेर मात्रै समृद्धि नेपाल सम्भव छ ।’ मन्त्री पोखरेलले भन्नुभयो, ‘उत्पादन र रोजगारीलाई समृद्धिसंग जोडेर अगाडी बढेमा मात्रै समृद्ध नेपाल बन्नेछ ।’ त्यसको लागि प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रुपमा विस्तार गरेर रणनीतिक ढंगले अगाडी बढ्न ‘स्कील फर अल’ को नीतिमा सरकार अघि बढिरेको उहाँले बताउनुभयो । ति नीतिलाई अगाडी सारेर बाँकी निरक्षर रहेकाहरुलाई साक्षर बनाउँदै अबको पुस्तालाई कम्प्युटर शिक्षासंग जोडेर हेर्न समेत उहाँले आग्रह गर्नुभयो । जिल्लाहरु साक्षर घोषणा गरिरहँदा अब शिक्षालाई विज्ञान र प्रविधिसंग पनि जोडेर लैंजानुपर्ने उहाँले बताउनुभयो ।

साक्षर जिल्ला घोषणा गरेका स्थानीय तह र जिल्लाहरुले त्यसतर्फ समेत ध्यान दिदै प्रविधिसंग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न समेत आग्रह गर्नुभयो । शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसंगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेश सभा सदस्य तथा संघीय सांसदहरुले समेत त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उहाँले भनाई छ ।सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाईको अवधारणासंग जोडेर साक्षरतालाई जीवनपर्यन्त शिक्षासंग जोड्न आवश्यक रहेको बताउनुभएको छ । आज काभ्रेपलाञ्चोक जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोख्रेलले सिकेको कुरा बिर्सिसकेको हुने भएकाले नयाँ ढंगले शिक्षालाई ब्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिहरुमाथि आईपरेको बताउनुभयो ।

काभ्रेपलाञ्चोक जिल्ला ‘शैक्षिक हब’को रुपमा विकास गर्न सकिने आधारहरु प्रसस्तै भएको र पछिल्लो समयमा अरु थप विश्वविद्यालय समेत स्थापना हुने चरणमा रहेको जिल्लालाई ‘शिक्षाको समस्या र चुनौती के हुन् र अब अगाडी जाने बाटो के हो रु’ भन्ने कुरा पत्ता लगाउन आवश्यक रहेकोले शिक्षा सम्मेलन गरी त्यसबाट प्राप्त नतिजाको आधारमा अघि बढ्न आवश्यक रहेको मन्त्री पोख्रेलले बताउनुभयो । त्यसको लागि सम्मेलन आयोजना गर्न जिल्ला समन्वय समितिलाई आग्रह गर्दै आवश्यक सहयोग आफ्नो तर्फबाट हुने बताउनुभयो । त्यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार शिक्षामा देखिने समस्याहरुलाई हल गर्न स्वायत्त, समन्वय र साझेदारीबाट लागिपर्नु पर्नेमा जोड दिनुभयो ।कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई ब्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रलाई सुधार गर्न अझै नसकिरहेको उल्लेख गर्नुहुँदै उहाँले सार्वजनिक शिक्षालाई मजबुद नबनाएसम्म साक्षरता अभियानलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोख्रेलले काभ्रेपलाञ्चोक जिल्ला युनेसकोले तयार पारेको सूचकहरु पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भईसकेकोले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गर्नुभयो । राष्ट्रिय जनगणना २०६८ अनुसार १५ बर्षदेखि ६० बर्ष उमेर समूहका ३ लाख ७३ हजार ७२८ जनसंख्यामध्ये आर्थिक बर्ष २०७६÷०७७ सम्ममा ३ लाख ६० हजार ५६० जनसंख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासंगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औं साक्षर जिल्ला भएको छ ।यसअघि जिल्लाको मापदण्ड पूरा गरी २०७५ पुस १३ मा मण्डनदेउपुर नगरपालिका, २०७५ माघ २१ गते खानीखोला गाउँपालिका, २०७५ फागुन ५ गते धुलिखेल नगरपालिका, २०७५ चैत १४ गते बनेपा नगरपालिका, २०७६ भदौ २२ गते तेमाल गाउँपालिका, २०७६ मंसिर १३ गते, भुम्लु गाउँपालिका, मंसिर २० गते पनौती नगरपालिका, पुस २५ गते बेथानचोक गाउँपालिका, माघ ६ गते महाभारत गाउँपालिका, १२ गते नमोबुद्ध नगरपालिका, १३ गते पाँचखाल नगरपालिका, २८ गते रोशी गाउँपालिका र फागुन १ गते चौरीदेउराली गाउँपालिकालाई साक्षर पालिका घोषणा गरी आज जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६