ब्रेकिंग न्युज

बुद्धभूमिमा साढे नौ वर्षमा ५१ किलोमिटर सडक कालोपत्रे, २ हजार ४१६ परिवारले पाए लालपुर्जा



कपिलवस्तु (बुड्ढी), ४ मंसिर

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले आफ्नो साढे नौ वर्षे कार्यकालमा सडक, शिक्षा, स्वास्थ्य, कृषि र संस्थागत विकासका क्षेत्रमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको छ ।
नगरपालिकाको २०औँ तथा अन्तिम नगरसभा अधिवेशनमा प्रगति विवरण प्रस्तुत गर्दै उहाँले दुई कार्यकालमा ५१.२९ किलोमिटर सडक कालोपत्रे, १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालन र २ हजार ४१६ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले यस अवधिमा १५८.५१ किलोमिटर ग्राभेल, ६५.७२ किलोमिटर पिसिसी तथा आरसिसी सडक र ३१.७४ किलोमिटर सडक नाली निर्माण गरेको छ । कृषि क्षेत्रको उत्पादन तथा सिँचाइ सुविधा विस्तारका लागि २९.४ किलोमिटर कुलो निर्माणसँगै पाइपलाइन, ट्युबवेल र कृषि उपकरण वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।


शिक्षातर्फ विद्यालयका भौतिक संरचना निर्माण तथा शिक्षक दरबन्दी व्यवस्थापन गरिएको छ भने स्वास्थ्यतर्फ नगर अस्पताल सञ्चालन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, बर्थिङ सेन्टरसम्म निःशुल्क अटो सेवा, सर्पदंश उपचार र निःशुल्क रगतको व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानअन्तर्गत वडा नं. ५, ६, ७, ८ र १० का गरी २ हजार ४१६ परिवारले लालपुर्जा प्राप्त गरेका छन् ।

यसैगरी, प्रशासनिक भवन, सभा हल तथा अधिकांश वडा कार्यालयका भवन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यद्यपि, जग्गा अभावका कारण सुविधा सम्पन्न मुख्य प्रशासनिक भवन निर्माण गर्न नसकिएको विषयलाई उहाँले कार्यकालको अधुरो कामका रूपमा उल्लेख गर्नुभयो ।
अन्तिम नगरसभामा भावुक मन्तव्य राख्दै श्रेष्ठले व्यत्ति mभन्दा संस्था, मतभेद भन्दा जनताको हित र पदभन्दा जनताको विश्वास ठूलो रहेको बताउनुभयो । कार्यशैलीका क्रममा कसैको मन दुखेको भए क्षमायाचना गर्दै उहाँले बाँकी कार्यकालमा अधुरा योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दुई पटक नगर प्रमुखमा निर्वाचित गराउने नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दै उहाँले पदमा नरहे पनि नगरको विकास र नागरिकसँगको सम्बन्ध निरन्तर रहने बताउनुभयो ।

प्रकाशित : ५ मंसिर २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६