समाचार

कोरोनाको बहानामा कालोबजारी नगरौँ



रुपन्देही, ३ चैत । कोभिड १९ को बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रूपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरूले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सरोकारवालाले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे ।  

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताउनुभयो ।         बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न गर्नुपर्ने बताउनुभयो । बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उहाँले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गर्नुभयो । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । अनावश्यक स्टक राखेर अभाव सृजना गर्न नहुने भन्दै उहाँले कृषिजन्य वस्तुमा समस्या नरहेको बताउनुभयो । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उहाँको भनाइ थियो । 

        साक्षात्कारमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताउनुभयो । “सरकारले बजारलाई प्रभावकारीरूपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नु पर्छ”, उहाँले भन्नुभयो ।  

        रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरू बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै उहाँले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनुपर्ने बताउनुभयो । एक्कासि मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । (रासस) 

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६