समाचार

कोरोना कहरः सुनसान बन्दै बुद्ध भूमि लुम्बिनी



भैरहवा, ४ चैत । कोरोनाका कारण विश्वका करिव एक सय ५० मुलुक प्रभावित भैरहँदा विश्व शान्तिको शहर लुम्विनी पर्यटक आगमनको अभावमा सुनसान वन्दै गएको छ । लुम्विनीमा पर्यटक आगमन ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही समयअघिसम्म राम्रै चहलपहल भैरहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एण्ड रेष्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताउनुभयो ।

  “केही भारतीय र श्रीलंकनहरु फाट्टफुट्ट आएका छन्, उनीहरु पनि एकछिन घुमेर फर्किहाल्छन्”–उहाँले भन्नुभयो–“दुई–तीन हप्तादेखि अरु विदेशीहरु त देखिनै छोडे ।”  विश्वका एकसय भन्दा बढी देशमा फैलिएको कोरोनाको संक्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी सुनसान भएको हो । नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन् ।

  लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो । “पाहुनाहरु आउनै छोडे, बुकिङ भएका कोठा पनि धमाधम रद्द भएका छन्”–उहाँले भन्नुभयो–“अन्य मुलुकमा फैलिएको कोरोनाको कारण ७० प्रतिशत बुकिङ रद्द भइसकेको छ ।”

  चैतसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाई छ । केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट संक्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरु मुलुकका पर्यटक समेत आउन छोडेको बताउनुभयो । “चिनियाँ पर्यटक लगभग शुन्यमा पुग्न लागे भन्दा पनि हुन्छ, अन्य पर्यटकको संख्या पनि अत्यन्तै न्युन भएको छ”–उहाँले भन्नुभयो ।

  यो समयमा लुम्बिनीमा बौद्ध मुलुकहरु श्रीलंका, म्यानमार र थाइल्याण्डका पर्यटक आउने गर्दथे । एक महिनायता कमी आएको सूचना अधिकारी बस्नेतको भनाइ छ । “जनवरीमा अघिल्लो वर्ष र अहिलेको संख्या बराबर छ, फेब्रुअरीमा कमी आएको छ”–उहाँले भन्नुभयो–“मार्चमा धेरै नै कमी आउने संकेत देखिएको छ ।”

  प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष स्थगित गरेको औपचारिक जानकारी नदिएपनि लुम्विनीमा हुने कार्यक्रम सवै स्थगित भएका छन । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले औपचारिक सभा समारोह, मेला तथा भेला नगर्न आग्रह गरेको बताउँदै लुम्विनीमा पनि सरकारका तर्फबाट कुनैपनि औपचारिक कार्यक्रम नहुने स्पष्ट गर्नुभयो । पर्यटक नआउँदा व्यवसाय धान्न समस्या भएको लुम्बिनी होटल संघका अध्यक्ष श्रेष्ठले गुनासो गर्नुभयो । “कामदारको तलव कसरी दिने, बैंकको व्याज कसरी तिर्ने भन्ने समस्या छ”–उहाँले भन्नुभयो । लुम्बिनीमा आन्तरिक पर्यटकको आगमन पनि घटेको लुम्बिनी विकास कोषले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६