समाचार

लेकाली अडियो प्रकरण छानवीन गर्न किन गरे सांसदले माग



रुपन्देही, ५ चैत । प्रदेश ५ का सभासदहरुले कलाकार नारायण लेकालीको केही दिनअघि सार्वजनिक भएको अडियो प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल त्यस सम्वन्धमा छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन । सांसदहरुले उक्त अडियो प्रकरण कोरोना भाईरसभन्दा पनि कडा रुपमा आएको बताउँदै त्यस बिषयमा संसदीय छानविन समिति गठन गर्न सरकारको ध्यानाकषर्णण गराएका छन् । 

        कलाकार लेकालीले गत फागुनको २१ गतेदेखि बुटवलमा सञ्चालन भएको प्रादेशिक औद्योगिक प्रदर्शनी सत्ता र शक्तिको बलमा आफूले बन्द गराएको भन्दै प्रदेश पाँचका उद्योगमन्त्री लिला गिरी र सामाजिक विकास मन्त्री सुदर्शन बराल सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समेतलाई मुछेका थिए ।आफूलाई अरवपति बताउने नारायण खनाल (लेकाली) ले अडियोमा सत्ता र शक्तिको आडमा मेला बन्द गराएको अर्का एक कलाकारसंगको सम्वादमा बताएका थिए ।त्यसको केही दिनपछि उक्त टेप सार्वजनिक भएको हो ।  प्रदेश पाँचको मंगलबार बसेको प्रदेश सभामा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले उक्त अडियोका बिषयमा सत्यतथ्य छानविनकालागि संसदीय छानविन समिति गठन गर्न माग गरेका हुन् । 

        प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्य बिरबहादुर रानाले उक्त अडियोमा प्रदेश सरकारका मन्त्रीहरु तथा प्रमुख जिल्ला अधिकारीको समेत मानहानी भएको उल्लेख गर्दै यति गम्भिर बिषयमा पनि सरकारले मौनता नसाँध्न आग्रह गर्नुभयो । उहाँले कोरोनावाट विश्व नै प्रभावित भैरहेको बेला कोरोनाको संक्रमण फैलिन नदिन प्रदेश सरकार गंभीर भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी प्रदेश सभाको मंगलवार भएको वैठकमा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले कोरोना सकभर नेपालमा नदेखियोस भन्नका लागि पनि सरकारद्वारा थप सचेतनामूलक र नियन्त्रणका उपाय खोजी गर्नुपर्ने बताउनु भयो । बैठकमा बोल्दै प्रदेश सभा सदस्य बिरवहादुर रानाले अहिले विश्वमा महामारीको रुपमा आएको कोरोना भाईरस संक्रमण रोक्नका लागि सरकारले गरेको प्रयासको बारेमा समेत जानकारी माग्दै कोरोना नियन्त्रणमा प्रदेश सरकार गंभीर भएर लाग्नुपर्ने बताउनु भयो । 

        अर्का प्रदेश सभा सदस्य फकरुद्दिन खानले कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रसंगै उद्योग व्यवसाय तथा बैंक तथा बित्तिय संस्थामा समेत नकारात्मक असर गरेको भन्दै सरकारले नेपाल राष्ट्र बैंकसंग समन्वय गरेर राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।त्यस्तै प्रदेश सभासदस्य डिल्लीवहादुर चौधरीले कानुन निर्माणसंगै कार्यान्वयनमा जोड दिदैं हालसम्म कति कानुन कार्यान्वयनमा आएका छन् त्यसको सरकारसंग जवाफ माग गर्नुभयो । प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले लुम्विनी विकास कोषको गुरु योजना विपरित काम भएको प्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । 

        त्यसैगरी प्रदेश सभा बैठकमा सांसदहरुले हालै परेको असिना पानीले पारेको क्षतिको यथार्थ विवरण संकलन गरि राहत प्रदान गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरे, कुलप्रसाद पोखरेल, धमकली चौधरी, धर्मबहादुर लाल श्रीवास्तव, बिजयबहादुर यादव लगायतले प्राकृतिक प्रकोपले पारेको क्षतिको यथार्थ विवरण संकलन गरि उचित क्षतिपूर्ति तथा राहतको व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको थियो ।सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना भाईरस भित्रिन नदिनकालागि सरकारको तर्फबाट भएको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले प्रदेशका १५ वटा अस्पतालमा ८५ वटा आईसोलेशन बेड तयार भएको जानकारी गराउँदै भारतसंग जोडिएका तराईका ६ जिल्लाका १५ नाका र दुईवटा विमानस्थलमा हेल्थडेस्क स्थापना गरि स्क्रिनिङ गर्न सुरु गरिएको जानकारी गराउनुभयो ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६