ब्रेकिंग न्युज

काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की



खोटाङ २६ चैत्र ।समाचार लेखेको विषयलाई लिएर नेपाली काँग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ । क्वारेन्टाइनमा नागरिक राख्न काँग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा  श्रेष्ठले पत्रकार उत्तम चौलागाईलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ । समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईंलाई सभापति श्रेष्ठले धम्क्याएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नुपर्ने यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाह नगरी समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्नुको सट्टा असुरक्षा महसुस हुने गरी धम्क्याउनु सिङ्गो पत्रकारिता जगत्का लागि दुखद् विषय भएको शाखाको ठहर छ । शाखाका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागार्इंको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।”

सभापति श्रेष्ठले पत्रकार चौलागार्इंलाई समाचारको विषयलाई लिएर “ पैसामा बिकेर समाचार किन लेखेको होस् गर्नु ज्यान पनि जान सक्छ ।” भनी धम्क्याएको राईको विज्ञप्तिमा उल्लेख छ । सभापति श्रेष्ठले फोनमार्फत धम्क्याएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको पत्रकार चौलागार्इंले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका व्यक्तिलाई राख्ने क्रममा सभापति श्रेष्ठले अवरोध गर्नुभएको थियो । श्रेष्ठको असहयोग र अभिव्यक्तिप्रति काँग्रेसकै भातृ सङ्गठनले समेत विरोध जनाएका छन् । बिरामीलाई क्वारेन्टाइनमा राख्न नदिन हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईलाई दबाब दिएको भन्दै काँग्रेसकै १० भातृ सङ्गठनले सोमबार विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।पत्रकार चौलार्गाई काँग्रेसनिकट नेपाल प्रेस युनियन खोटाङका अध्यक्षसमेत हुनुहुन्छ । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागाई प्रभाव न्यूज डटकमका प्रबन्ध÷सम्पादक हुनुहुन्छ । सभापति श्रेष्ठले भने सो विषय पार्टीभित्रको आन्तरिक सवाल भएको र आफूलाई बदनाम गरिएको जनाउनुभयो । सभापति श्रेष्ठले यसअघि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन नबनाउन दबाब दिनुभएको थियो ।

जनप्रतिधिको सेवा सुविधाबाट सामग्री

बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष तथा सदस्यले आफूले पाएको एक महिनाको सुविधा र स्थानीय सङ्घसंस्थाको सहयोगमा स्थानीयवासीलाई मास्क तथा हात धुने साबुन वितरण गरेका छन् । वडाध्यक्ष तथा वडा सदस्यले राज्यबाट वडावासीलाई करिब रु ६३ हजार बराबरको मास्क तथा हात धुने साबुन खरिद गरेर वितरण गरेका हुन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियानस्वरुप वडास्तरीय जनप्रतिनिधिको सेवा सुविधा र सङ्घसंस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सुरक्षा र सरसफाइका सामग्री जुटाएर प्रदान गरिएको वडाध्यक्ष भुबलराज राईले बताउनुभयो ।  मास्क तथा साबुन खरिदका लागि वडाध्यक्ष राईले एक महिनाको सेवा सुविधावापतको रु १५ हजार तथा वडा सदस्य राजकुमार मगर, विनोदकुमार बुढाथोकी, पदमलक्ष्मी श्रेष्ठ र जानुका विकको एक महिनाको सेवा सुविधा वापतको रु सात÷सात हजार खर्च गरिएको छ । जनप्रतिनिधिको अभियानमा स्थानीय नवजनजागृति युवा क्लब भञ्ज्याङखर्क, धर्मशाला सामुदायिक वन उपभोक्ता समिति, जाल्पा प्रावि माक्सिङटार र आमा समूह माक्सिङटारले पनि रु पँच÷पाँच हजार सहयोग गरेको वडा कार्यालयले जनाएको छ । यसअघि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा याम्खा वडा समितिले पनि सचेतना अभियानसँगै साबुन वितरण गरेको थियो । 

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६