खोज–अनुसन्धान

अमेरिका पुर्‍याइएको बुद्ध मूर्ति बज्रधातु विहारमा पुनःस्थापना



काठमाडौँ, १९ वैशाखः

काठमाडौँ महानगरपालिका–२३ जोरगणेश ओमबहाल टोलको न्हुछे बहा (बज्रधातु विहार) बाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित टिवेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति २०७८ साल फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो । पुरातत्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय सङ्ग्रहालयमा राखेर संरक्षण गरिएको थियो । शुक्रबार वैशाख १८ गते बुद्ध जयन्तीको अवसर पारेर विहारमा मूर्तिलाई मूल आसनमा पुनःस्थापित गरिएको हो । हनुमानढोकाबाट विहारमा मूर्ति लैजाँदा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, वडा न २३ वडाध्यक्ष मचाराजा महर्जन, सदस्यहरु, सम्पदा अभियन्ताहरु, गुठि खल पुचका प्रतिनिधिहरुले बाजागाजासहित उत्सव गर्नुभएको थियो । त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले मूर्तिहरुको सुन्दरता बस्ती र चोकहरुमा हुने बताउनुभयो । “नेपाल मण्डलभित्रका मूर्तिहरु केवल आकृति मात्र होइनन् । यी हरेक मूर्तिमा प्राण हुन्छ । हरेक मूर्तिसँग सामाजिक जीवनको गहिरो आत्मीय सम्बन्ध हुन्छ । यी मूर्तिको संरक्षणका लागि स्थानीयहरु सचेत हुनुहुन्छ । महानगरपालिकाका तर्फबाट हामीले गर्नुपर्ने काम पूर्ण प्रतिबद्ध भएर गर्नेछौँ”, उहाँले भन्नुभयो । मूर्ति पुनःस्थापनाले वडाको सांस्कृतिक पहिचान अभिवृद्धिका लागि ठूलो योगदान पुगेको अध्यक्ष महर्जनले उल्लेख गर्नुभयो । राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले सम्पदा संरक्षणमा स्थानीय सरकार समुदायका बीच समन्वय उत्कृष्टताको नमूना भएको उल्लेख गर्नुभयो । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ र सञ्जय अधिकारीले विदेशमा बेचिएका प्राचीन कला फिर्ता ल्याउने काममा थप उत्साह बढेको बताउनुभयो । चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनःस्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरमा रहेको महागौरी÷पार्वतीको मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ । यसरी मूर्ति फिर्ता गराउन काठमाडौँ महानगरपालिकाले सरोकारवाला तथा साझेदार कार्यालयका प्रतिनिधिहरुसँग छलफल, कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने गरेको छ । सयुक्त अधिराज्य बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण २०८२ मंसिर ५ गते पुनःस्थापित गरिएको थियो । त्यस्तै २०८३ वैशाख ५ गते विश्व सम्पदा दिवसको अवसर पारेर राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको १३औँ शताब्दीको महागौरी÷पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति वडा नं.२० मरुस्थित गःगुठि सूर्यमुखी महादेव मन्दिर परिसरको आफ्नै आसनमा पुनस्थापित गरिएको थियो । मूर्तिको नाप ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको छ । चोरी भएको मूर्ति बेलायत पु¥याइएको थियो । त्यहाँबाट २०५२ सालमा फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीको जुद्धजातीय कलाशालामा राखिएको थियो । त्यहाँबाट काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियानकर्ताद्वय गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीले मूर्ति बुझेर फिर्ता ल्याउनुभएको थियो । सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, राष्ट्रिय सङ्ग्रहालयका सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डंगोल र पुुरातत्व विभागका पुरातत्व अधिकृत अमृता महर्जनको रोहवरमा सङ्ग्रहालयका भण्डारे विन्दा श्रेष्ठ र सहायक पथ प्रदर्शक उषाकुमारी सिंहले मूर्ति बुझाउनुभएको थियो । –––

Powered By  Orson Infotech

प्रकाशित : १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६