प्रदेश

बन्दाबन्दीका कारण नवलपरासी आपराधिक घटनामा कमी



परासी, २४ वैशाख । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नवलपरासी बर्दघाट–सुस्ता पश्चिम जिल्लामा आपराधिक घटनामा कमी आएको छ । बन्दाबन्दीमा चोरी, डकैती, हत्या, जबर्जस्ती करणी जस्ता अपराधका घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।‘लकडाउनका कारण मानिस घर बाहिर निस्कन नपाउनु, सीमा क्षेत्र पनि पूर्ण रुपमा बन्द हुनु र प्रहरी सक्रियता रहनु जस्ता कारणले विगतका तुलनामा अपराधका घटनामा कमी आएको छ’, उहाँले भन्नुभयो । प्रहरी गाउँका चोक, सडक तथा सार्वजनिक स्थानमा परिचालन भएर जाँच र सर्वसाधारणलाई अनावश्यक रुपमा हिँडडुल गर्न रोक लगाएकाले मानिस आपराधिक कार्यमा संलग्न हुन नपाएको उहाँको भनाइ छ । प्रहरीका अनुसार बन्दाबन्दी अवधिमा जिल्लामा ज्यान मार्ने उद्योग र फुटकर ज्यान एकएक तथा भवितव्य ज्यानमा तीन मात्र मुद्दा दर्ता भएका छन् । जबर्जस्ती करणीका दुई, सवारी ज्यान एक र सवारी दुर्घटनामा परी मृत्यु भवितव्य ज्यानमा दुई  मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएकाले दुर्घटनामा कमी आएको तथा लागुऔषधको मुद्दा वृद्धि भएको पाइएको छ ।

              बन्दाबन्दी अवधिमा मात्रै लागुऔषधका १० मुद्दा दर्ता भएको र त्यसमा संलग्न १९ लाई पक्राउ गरिएको प्रनाउ थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लागुऔषधको कारोबार मुख्य नाकाबाट नभई अन्य चोरीका नाकाबाट रातिको समयमा प्रहरीको आँखा छलेर हुने गरेको पाइन्छ, भारतका व्यापारीले सीमासम्मै लागुऔषध ल्याएर छाड्ने र प्रहरीलाई छलेर ओसारपसार गर्ने गरिएको छ ।’ जिल्लाको भारतसँग सीमा जोडिएको २८ किलोमिटर क्षेत्रमा नेपाल प्रहरी  र सशस्त्र प्रहरी उल्लेख्य मात्रामा परिचालन गरिएको छ । सीमानाकामा चौबीसै घण्टा प्रहरी तैनाथ रहेकाले कुनै पनि व्यक्ति वा वस्तु आयात निर्यातमा रोक लगाइएको छ । गत चैत ११ देखि हालसम्म जिल्लामा ४९  मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । दर्ता भएकामध्ये १२  मुद्दा फछर्योट भएको तथा ३७ अनुसन्धानमै रहेको प्रहरीले जनाएको छ । उनन्चास मुद्दाका प्रतिवादी ४२ जनालाई प्रहरी पक्राउ गर्न सफल भएको छ । घटनामा नौ जना फरार  छन् । 

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६