चन्द्रौटा, कपिलवस्तु, २ मंसिर
स्थानीय सरकारको प्राथमिकता बजेटमा मात्र होइन, नागरिकको जीवनसँग जोडिएका क्षेत्रमा हुने लगानीमा पनि प्रतिबिम्बित हुन्छ। कपिलवस्तुको शिवराज नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको बजेट विनियोजनले स्थानीय आवश्यकताका आधारमा आफ्नै स्रोत परिचालन गर्ने अभ्यासलाई अघि बढाएको देखाएको छ। संघीय अनुदानको भरमा मात्र नपरी नगरपालिकाले आन्तरिक स्रोतबाट स्वास्थ्य क्षेत्रमा उल्लेख्य रकम छुट्याएको छ।
नगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति, बजेट तथा कार्यक्रमको प्रगति विवरणअनुसार स्वास्थ्य क्षेत्रमा कुल ५ करोड ५६ लाख ७६ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट ३ करोड ९४ लाख ९७ हजार २०० रुपैयाँ र संघीय ससर्त अनुदानबाट १ करोड ६१ लाख ७९ हजार रुपैयाँ छुट्याइएको छ। कुल स्वास्थ्य बजेटको करिब ७१ प्रतिशत हिस्सा स्थानीय स्रोतबाट व्यवस्थापन गरिएको हो।

संघीय अनुदानको तुलनामा स्थानीय स्रोतबाट विनियोजित रकम करिब २.४४ गुणा बढी छ। यसले स्वास्थ्य सेवामा नगरपालिकाले आफ्नै वित्तीय क्षमताको उपयोग गर्न खोजेको देखाउँछ। बजेटको प्राथमिकतामा नियमित उपचारसँगै आकस्मिक सेवा, रोग नियन्त्रण, सामाजिक पुनःस्थापना र समुदायस्तरको स्वास्थ्य सचेतनालाई पनि समेटिएको छ।
रगतदेखि सर्पदंश उपचारसम्म जीवनरक्षाका कार्यक्रम
शिवराज नगरपालिकाले स्वास्थ्य सेवालाई अस्पताल र स्वास्थ्य संस्थाभित्रको उपचारमा मात्र सीमित नराखी आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल सहयोग पु¥याउने कार्यक्रमसमेत सञ्चालन गरेको छ। नगरपालिकाको विवरणअनुसार १३७ जना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराइएको छ भने सर्पदंशबाट प्रभावित २१० जनाले निःशुल्क उपचार तथा एम्बुलेन्स सेवा प्राप्त गरेका छन्।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ। यस क्रममा ५२५ वटा सर्पको सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काइएको विवरणमा उल्लेख छ। सर्पको उद्धारले सम्भावित मानवीय क्षति न्यूनीकरण गर्नुका साथै जैविक विविधता संरक्षणमा समेत सहयोग पु¥याउने अपेक्षा गरिएको छ।
यी कार्यक्रमले स्वास्थ्य सुरक्षालाई उपचारको विषयमा मात्र सीमित नराखी जोखिम न्यूनीकरण र जीवन रक्षासँग जोड्ने नगरपालिकाको प्रयासलाई देखाउँछन्।
अस्पताल नपुगेका नागरिकको घरदैलोमा स्वास्थ्य सेवा
नगरपालिकाले उमेर, आर्थिक अवस्था र सामाजिक जोखिमका आधारमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने कार्यक्रमलाई समेत बजेटमा समेटेको छ। ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ।
मानसिक स्वास्थ्य समस्या र आत्महत्या रोकथामका लागि संघीय स्रोतबाट ५० हजार रुपैयाँ छुट्याइएको छ। लागुऔषध दुव्र्यसनमा फसेका विपन्न नागरिकलाई पुनःस्थापना केन्द्रसम्म पु¥याउन स्थानीय स्रोतबाट दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी प्रजनन स्वास्थ्य तथा परिवार नियोजनका कार्यक्रमका लागि स्थानीय स्रोतबाट दुई लाख रुपैयाँ र परिवार योजना तथा प्रजनन रुग्णता व्यवस्थापनका लागि संघीय अनुदानबाट तीन लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्य सेवाको दायरामा शारीरिक रोगसँगै मानसिक स्वास्थ्य, पारिवारिक स्वास्थ्य र सामाजिक समस्यालाई समेत समेट्नुले जनस्वास्थ्यप्रतिको दृष्टिकोण विस्तार हुँदै गएको देखिन्छ। विशेषगरी ज्येष्ठ नागरिक, विपन्न परिवार र दुव्र्यसनको जोखिममा रहेका नागरिकलाई लक्षित कार्यक्रमले स्वास्थ्य सेवालाई सामाजिक सुरक्षासँग जोड्ने प्रयास गरेका छन्।
२० हजारभन्दा बढी नागरिकसँग जोडियो स्वास्थ्य अभियान
नगरपालिकाको प्रगति विवरणमा स्वास्थ्य परीक्षण, उपचार तथा जनचेतनामूलक कार्यक्रमबाट २० हजारभन्दा बढी नागरिक लाभान्वित भएको उल्लेख छ। विद्यालयका विद्यार्थी, ज्येष्ठ नागरिक तथा नसर्ने रोगको जोखिममा रहेका समुदायलाई लक्षित गरी विभिन्न स्वास्थ्य परीक्षण र सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ।
आँखा शिविर तथा विशेषज्ञ अस्पतालसँगको सहकार्यबाट पाँच हजारभन्दा बढी नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। निःशुल्क रगत वितरण, सर्पदंश उपचार र सुरक्षित मातृत्व सेवामार्फत एक हजारभन्दा बढी नागरिकको जीवन रक्षा भएको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ।
यसका अतिरिक्त सडक मानव तथा लागुऔषध दुव्र्यसनमा फसेका १४ जनाको उद्धार गरी सामाजिक पुनःस्थापनाको प्रयास गरिएको छ। यसले नगरपालिकाको स्वास्थ्य कार्यक्रम उपचारात्मक सेवासँगै मानवीय सहायता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विस्तार भएको देखाउँछ।
बजेटको आकारसँगै परिणामको परीक्षण आवश्यक
स्वास्थ्य क्षेत्रमा स्थानीय स्रोतको हिस्सा बढ्नुले नगरपालिकालाई आफ्ना प्राथमिकताअनुसार कार्यक्रम सञ्चालन गर्ने अवसर दिएको छ। तर विनियोजित बजेट र खर्चको प्रभावकारिताबीचको सम्बन्ध स्पष्ट हुनु पनि उत्तिकै आवश्यक छ। स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको वास्तविक उपलब्धि कति नागरिकले सेवा पाए भन्ने संख्याले मात्र होइन, सेवाको गुणस्तर, नियमितता र नागरिकको स्वास्थ्य अवस्थामा आएको सुधारले निर्धारण गर्छ।
विशेषगरी मानसिक स्वास्थ्य, नसर्ने रोग, ज्येष्ठ नागरिकको स्वास्थ्य र लागुऔषध दुव्र्यसन न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने देखिन्छ। स्वास्थ्य संस्थामा आवश्यक औषधि, दक्ष जनशक्ति, उपकरण र सहज उपचारको व्यवस्था नहुँदा बजेटको अपेक्षित प्रभाव नागरिकसम्म पुग्न कठिन हुन्छ।
शिवराज नगरपालिकाले आफ्नै स्रोतबाट स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई दिगो बनाउन खर्चको पारदर्शिता, कार्यक्रमको नियमित अनुगमन र उपलब्धिको सार्वजनिक मूल्याङ्कनलाई पनि सँगसँगै अघि बढाउनुपर्ने देखिन्छ। संघीयताको मर्मअनुसार स्थानीय आवश्यकता पहिचान गरी स्रोत परिचालन गर्नु महत्वपूर्ण भए पनि त्यसको अन्तिम सफलता नागरिकले समयमै, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सके–नसकेको आधारमा मापन हुनेछ।
स्वास्थ्यमा स्थानीय लगानी विस्तार गर्ने शिवराजको यो अभ्यासलाई अब सेवा प्रणालीको सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्थामा देखिने सुधारसँग जोड्नु नै आगामी चुनौती र प्राथमिकता बन्नेछ ।









प्रतिक्रिया