अर्थ-वाणिज्य

कसले हेर्ने क्वारेण्टाइन ? क्वारेण्टाइनको जात्रा ,संक्रमणको बिस्तार !



कपिलवस्तु ३१ बैशाख ।कोरोना भाइरसको त्राससंगै नेपालीले थाहा पाए क्वारेण्टाइन ,आइसोलेशन र लकडाउन । यी कस्ता चीज हुन कसरी ब्यवहार गरेर संक्रमणवाट बच्ने ? आदी बिषय यतिबेला सबैको सबै भन्दा चासोका विषय बनेका छन् । यसमा पनि भारतवाट ठूलो संख्यामा आउनेहरुलाई संक्रमणवाट बचाउन हरेक पालिकाले क्वारेण्टाइन वनाएका छन् । कपिलवस्तुका केहि पालिकाले साँच्चै ब्यवस्थित क्वारेण्टाइन बनाएका छन् । तर केहि पालिकाले बनाएका क्वारेण्टाइनले जिल्लाकै दुर्दशाको संकेत गरेकोछ । प्रेसपाटीकालागि गरिएको अध्ययन यस्तो छ । 

क्वारेन्टाइन के हो ? 

मेडिसिननेट वेबसाइटका अनुसार मेडिकल साइन्सको भाषामा क्वेरान्टिनको अर्थ संक्रामक रोगको प्रसारलाई रोक्नको लागि कसैलाई केही समयको लागि अलग राख्नु भन्ने हुन्छ ।मानिसलाई हेर्दा लक्षणअनुसार संक्रमण नभएको तर संक्रमण हुन सक्ने सम्भावना भएको व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ ।  क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ ।सिडिसिका अनुसार क्वारेन्टाइन भनेको सामान्यतया व्यक्ति वा ब्यक्तिहरुको समूहबाट अलग गर्नु हो ज्ञात रुपमा यो बिश्वास गरिन्छ कि रोग सार्ने रिक्स हुनसक्छ तर लक्षण देखिएको छैन् ।सङ्क्रमित नभएकालाई सार्न सक्छ्न् । यसले सम्भावित सरुवा रोगबाट बचाउँछ।यो कोरोना भाइसरको सन्दर्भमा १४ दिन बस्नुपर्ने भनिएको छ । यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ ।

कस्तो हुनुपर्छ क्वारेण्टाइन ?

राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसार क्वारेन्टाइन स्थल मानवीय आधारभूत आवश्यकता पूरा हुन सक्ने हुनुपर्छ । बस्तीभन्दा अलि टाढा हुनुपर्छ । यातायातको सुविधा हुनुपर्छ, सञ्चार र खानेपानीको सुविधा हुनुपर्छ । सरसरफाइ हुनुपर्छ । कसैलाई संक्रमणको लक्षण देखियो भने तुरुन्तै अस्पताल लान सक्ने गरी एम्बुलेन्स लगायतको आवश्यक सुविधा हुनुपर्छ । बसेका मान्छेहरूलाई सकारात्मक काउन्सिलिङ हुनुपर्छ । क्वारेण्टइन अन्तर्गत एकदेखि अर्काेबेडको बीचमा  कम्तिमा ६ फिटको दुरी कायम राख्नु पर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा खाने ,नियमपुर्वक मास्क लगाउने , बेलाबेला हात धुने ,सकेसम्म छुट्टै बाथरुम प्रयोग गर्ने नभए हरेक पटक डिसइन्फेक्सन गर्ने , सिर्जनात्मक कार्य गरेर बस्ने खालको हुनुपर्छ ।

        क्वारेन्टाइन बसेको खान प्रयोग गरेका ब्यक्तिले प्रयोग गरेका भाडाकुडा अरुले प्रयोग नगर्ने, सकारात्मक हुने सोच्ने ,जथाभावी हिँडडुल  नगर्ने ,बेला–बेला शरीरको तापक्रम नाप्ने गर्नुपर्छ । हरेकको अलग अलग थर्मामिटर हुनुपर्छ ।संक्रमणको लक्षण देखिएमा सुरक्षित हिसावले तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्ने सुविधा हुनुपर्छ ।१४ दिनसम्म बस्दा पनि कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ।क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन । यो त अरुलाई नसरोस भनेर हो। यसमा उच्च मनोबल बनाउनुपर्छ ।ब्यक्तिगत सरसफाइमा बिशेष ध्याने दिनुपर्छ ।

कस्ता छन् कपिलवस्तुका क्वारेण्टाइन ? 


कपिलवस्तुका क्वारेण्टाइन कस्ता छन् भनेर प्रचलित मापदण्डका अनुसार  हेर्दा यहाँका क्वारेण्टाइनलाई ४ बर्गमा बाँडेर हेर्न सकिन्छ । ठयाक्कै मापदण्ड अनुसारका सबै शर्त पालना भएका क्वारेण्टाइन त कपिलवस्तुमा छैनन् । जस अनुसार कपिलवस्तुमा भारतवाट आएकालाई राख्नकालगि बनाइएका क्वारेण्टाइन थरिथरीका पाइएका छन् । प्रेसपाटीले गरेको अध्ययनवाट  ती सबैलाई ४बर्गमा वाँडेर हेर्नु पर्ने देखिएको छ ।

क) बर्गका क्वारेण्टाइन :

पहिलो बर्गमा यस्ता क्वारेण्टाइन छन् जहाँ भारतवाट आएकालाई राख्न सामाजिक दुरी कायम गरि पलङ र विस्ताराको राम्रो ब्यवस्था छ । जहाँ खाजा र खाना खाने,आरामले बस्ने, ढुक्कले सुत्ने ,नुहाउने धुने सबै चीजको प्रबन्ध मिलाइएकोछ । सौचालय र खानेपानीका धाराहरुको उचित ब्यवस्था मिलाइएको छ ,इन्टरनेटको सुविधा उपलब्ध छ । स्वास्थ्यकर्मीको निरन्तर चेकजाँच हुने गरेको छ । यस्तो बर्गमा पर्ने क्वारेण्टाइनमा बाणगंगा ,बुद्धभूमी र शिवराजका क्वारेण्टाइन परेका छन् । खासमा भन्दा राजमार्गमा रहेका पालिकाले राजमार्ग नजिक बनाएका क्वारेण्टाइन यस्ता छन् । सुरक्षा कर्मीको डयुटी र एम्वुलेन्सको एटेन्सन दुबै कायम रहेकोछ । 

ख )बर्गका क्वारेण्टाइन : 

भारतवाट आएकाहरुलाई राख्न सामाजिक दुरी कायम गरेर बेड विस्तारा राखिएका छन् ,खाना खुवाउने ब्यवस्था मिलाइएको छ ।स्वास्थ्यकर्मीको  चेकजाँच हुने गरेको छ । आंशिक रुपमा इन्टरनेट सुविधा पनि छ । तर यहाँ खाजा खाने नुहाउने शौचालय जाने जस्ता काममा समस्या छन् ।यहाँ आरामदायी वाताबरण छैन ।  ख बर्गका क्वारेण्टाइन कपिलवस्तु नगरपालिका,महाराजगंज नगरपालिका ,कृष्णनगर नगरपालिका र बिजयनगर गाउँपालिकामा रहेका छन् । 

ग )बर्गका क्वारेण्टाइन :

यस्ता क्वारेण्टाइनमा बेड विस्तारा स्वयम ब्यक्तिले ल्याएका छन् । खाना पनि उनीहरु आफैले ब्यवस्था गरेका छन् । दिशापिसाव गर्ने शौचालय छदै छैनन् वा भए सिमित छन् । नुहाउने धुने स्थानको अभाव छ । स्वास्थ्यकर्मीले चेकजाँच सामान्यत कहिलेकाही गर्छन । कतिपयमा स्वास्थ्यकर्मी नै छैनन् ।कतिपयमा खाना खाने ब्यवस्था पालिकाले मिलाएकाछन् । तर धेरै जसोमा स्वयम ब्यक्तिले नै खानाको ब्यवस्था गर्नु परेकोछ । घरपरिवारका सदस्य गएर भेट्न खाना खुवाउन कुनै छेकवार छैन । नजिकमा बस्ने गफ गर्ने काममा परिवारका सदस्य सहभागि हुने गर्छन ।  यस्तो बर्गका क्वारेण्टाइन मायादेवी गाउँपालिका,यशोधरा गाउँपलिका  र शुद्धोधन गाउँपालिकामा रहेका छन् । 

घ)बर्गका क्वारेण्टाइन :

जहाँ सामान्य खुला आकासमुनि झुल टाँगेर खटियामा सुत्नु पर्ने अवस्था छ ।अथवा म्याट विछाएर भुइमा सुत्नु पर्ने अवस्था छ ।  प्लाष्टीकले बेरेर बनाइएका झुप्रा नै क्वारेण्टाइनका रुपमा मानिएका छन् । जहाँ न चिकित्सक छन् । न सुरक्षाकर्मी कसैको रेखदेख छैन । स्वयमा भारतवाट आएका ब्यक्ति नै सचेत भए हुने हो अरु कसैले केहि भन्ने वाला छैन । यस्तो बर्गका क्वारेण्टाइन रहेका पालिकामा नगरपालिका तर्फ कपिलवस्तु नगरपालिका नै परेको छ । प्रेसपाटीले प्राप्त गरेको कपिलवस्तु नगरपालिका वडा नं ४ को क्वारेण्टाइनको माथि उल्लेखीत दृष्यवाटै प्रष्ट हुन्छ । त्यसको त एकातिर यो नगरपालिकाले दोश्रो वर्गको क्वारेण्टाइनमा १सय २ लाई राखेको छ ।  अर्काेतर्फ चौथो वर्गको क्वारेण्टाइनमा ३ सय ४७ रहेका छन  ।  मेयर किरण सिंहले अपेक्षा गरिए भन्दा धेरै आएपछि हरेक वडा र टोलमा क्वारेण्टाइन थप्न लगाइएको वताउनु हुन्छ । सोही क्रममा यस्ता झुपडी नै क्वारेण्टइन हुन पुगेका हुन् । पालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी सापकोटाका अनुसार पछिल्लो चरणमा भारतबाट धैरै मानिसहरु आएकोले सबै वडाहरुमा क्वारेन्टाइन बनाएर राखिएको छ । 

सबैभन्दा ठूलो तयारी बुद्धभूमीमा :

वुद्धभुमिमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  यसबाट बच्नका लागि कपिलवस्तुका पालिकाहरुले क्वारेन्टाइको दायरा बढाउदै लगेका छन । वुद्धभुमि नगरापालिकाले ११ वटै वडामा एक /एक क्वारेन्टाइन राखेको छ । संक्रमित बढ्दै जान थाले पछि सबै वडामा क्वारेन्टाइन राखिएको नगरका मेयर केशव श्रेष्ठले बताउनु भयो । नगरमा ९ सय २५ को बेड राखिएको हो । जसमा अहिले सम्म क्वारेन्टाइनमा  २ सय ५७ जना रहेको र १ सय २५ जनाको स्वाँव परिक्षणका लागि पठाइएको छ ।  

सबै भन्दा सुन्दर बाणगंगा  :

बाणगंगा नगरपालिकामा सिद्धार्थ क्याम्पसको मनोरम र सुन्दर वाताबरणमा व्यवस्थित सय वेडको  एकवटा क्वारेन्टाइन बनाएकोछ । जहाँ ५० जना रहेका छन । सबैलाई सामाजिक दुरी कायम गरि राखिएको खानपान , इन्टरनेट लगायतका  सुविधा प्रदान गरिएको वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो  । 

पहिला अति ब्यवस्थित तर अहिले ? 

शिवराज नगरपालिकामा पहिलो चरणमा अति ब्यवस्थित क्वारेण्टाइन वनेका थिए । त्यसलाई सहयोग उपलब्ध गराउन पनि तछाड मछाड थियो । जहा ४ स्थानमा १ सय ५० बेडको  क्वारेन्टाइन राखिएको छ । क्वारेनन्टाइनमा भारतका विभिन्न स्थानबाट आएका छन । मंगलवार सम्म १ सय १५ रहेको नगरका मेयर नेत्रराज अधिकारीले बताउनु भयो । लुकिछिपी आउनेक्रम पनि नरोकिएको उहाँको भनाई छ । यो संगै पछिल्ला दिनमा वडाहरुमा बनेका क्वारेण्टाइन काम चलाउ प्रकृतिका मात्र छन् । 

कृष्णनगरमा सामाजिक दुरीको समस्या :

कृष्णनगर नगरपालिकामा शुरुमा ४ वटा क्वारेन्टाइनमा ७ सय ५५ बेड रहेको मेयर रजत प्रताप शाहले बताउनु भयो । यिनीहरु पनि भारतका विभिन्न स्थानबाट आएका हुन । क्वारेन्टाइनमा रहेका ५० जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरि पठाइएको उहाँले जानकारी दिनु भयो । त्यहाँ पनि भारतबाट आउने नेपालीहरु बढिनै रहेका छन । क्वारेन्टाइनमा ८ सय ९४ रहेका छन । यहाँ पनि भारतका विभिन्न स्थानबाट आउने क्रम अझै जारी छ ।७सय ५५ बेडमा ८सय ९४ जना हुनु र ४ क्वारेण्टाइनमा ९सय जना अट्नु आफैमा अनौठोछ । यसको अर्थ हो अरु सुविधा ठिकै होलान तर सामाजिक दुरी कायम छैन । 

बिजयनगर ,दशगजामा जादै ल्याउदै :

अरु पालिकाका सिमानामा धेरै दिन दुख पाएर नागरिकहरु भित्रिए तर विजयनगरमा भने सिमानामा जादै ल्याउदै शुरुवाटै गरियो ।  विजयनगर गाउँपालिकामा ६ वटा क्वारेन्टाइन छन । जहाँ कतै बेड छन , कतै गुन्द्रिमै सामाजिक दुरी कायम गरि राखिएको छ ।   क्वारेन्टाइनहरुमा ३ सय ४४ रहेका छन ।  ७६ जनाको स्वाव परिक्षणका लागि लगिएको गाउँपालिकाका प्रमुख गोपाल थापाले प्रेसपाटीलाई  बताउनु भयो ।

यशोधरा बिद्यालयका फर्निचरमा वास :

यशोधरा गाउँपालिकामा २८ वटा क्वारेन्टाइन छन । क्वारेन्टाइनमा ५०० रहेका र उनीहरुलाई कतै बेड , कतै भुईमै सामाजिक दुरी कायम गरि गुन्द्रीमै राखिएको गाउँपालिकाका प्रमुख गृजेश पाण्डेले बताउनु भयो । यहाँ पनि भारतबाट आउने क्रम अझै जारी रहेको छ । उक्त गाउँपालिकामा क्वारेन्टाइनमा रहेका मध्येबाट ६२ जनाको स्वाव परिक्षणका लागि पठाइएको उहाँले जानकारी दिनु भयो । यहा रहेकाहरुले विद्यालयकै (फर्निचर बेञ्च डेस्क )लाई पलङ मानेर सुत्ने स्थिती भएको  प्रेसपाटीलाई वताएका छन् । 

महाराजगञ्ज एउटै बडामा ९ क्वारेण्टाइन :

महाराजगंज नगरपालिकाले कुल ४० वटा क्वारेण्टाइन बनाएको मेयर अब्दुल कलाम खाँले बताउनु भयो । एउटै वडामा ९वटा सम्म क्वारेण्टाइन रहेको उहाको भनाईछ । १ हजार बढी अहिले सम्म आएका छन् दिनहु १/२ सय स्वभाविक थपिएका छन् । यस्तो बेलामा कस्ता क्वारेण्टाइन वनाउने भन्दै जे छन् राम्रा छन् उहाले भन्नु भयो । 

सबै सार्वजनिक भवन क्वारेण्टाइन :

मायादेवी गाउँपालिकामा ३० वटा क्वारेन्टाइनमा ४ सय ७६ रहेका छन । ती पनि भारत र मुम्बईबाट आएका गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद कुर्मीले बताउनु भयो । शुद्धोधन गाउँपालिकामा  १८ क्वारेन्टाइनमा ५ सय बेड रहेका छन । क्वारेन्टाइनमा ५ सय संख्यामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताउनु  भयो । यी दुइ पालिकाले भएभरका सार्वजनिक भवनलाई क्वारेण्टाइन वनाउन थालेका छन् । 

अनुगमन कसले गर्ने  ? :

कपिलवस्तुमा संक्रमित बढ्दै जान थालेपछि क्वारेण्टाइनको अभाव भएको प्रति  ध्यान दिन थालिएको छ ।  यद्यपी सबै पालिकाहरुमा भने पुर्व तयारीको प्राप्त्यता नभएको अवस्था भने खड्किएको  छ ।  बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइन सामाजिक दुरी कायम गरि व्यवस्थित तवरले राखेमा मात्र एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्न सक्दैन । तर सबैमा यस्तो अवस्था देखिएको छैन । रोजगारीका लागि भारत गएका नेपालीहरु लर्को लागेर आउन थाले पछि कपिलवस्तु ठुलो जोखिममा परेको हो।

        समयमै ध्यान नपुर्याउदा ठुलो समस्या निम्तीन थालेको नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखवहादुर पछाईको भनाई छ । अब यथाशिघ« क्वारेन्टाइनलाई व्यवस्थित र सबैको चेकचाँच छिटो गर्नु पर्ने उहाँले जनाउनु भयो ।  उहाँले प्रेसपाटीसंग अगाडि भन्नु भयो ,“ कोरोना भाइरसको  ठुलो भयाभह नआउनका लागि संघिय सरकार , प्रदेश सरकार र स्थानिय सरकारले छिटो भन्दा छिटो काम शुरु गर्नु पर्ने हुन्छ ” । 

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६