बिजनेस

गाउँपालिकाले बनाइदियो भेडापालक किसानलाई खोर



ढोरपाटन (बागलुङ), ३१ जेठः निसीखोला गाउँपालिकाका अधिकांश किसान परम्परागत रुपमा भेडापालन गर्दै आएका छन् । एउटै परिवारले सयौँको सङ्ख्यामा भेडापालन गरे पनि व्यावसायिक बन्न सकेका छैनन् । किसानलाई व्यावसायिक बनाउन निसीखोला गाउँपालिकाले आधुनिकतासँग जोड्न थालेको छ । चालु आर्थिक वर्षमा भेडापालक किसानका लागि पालिकाले आधुनिक खोर बनाइदिएको छ ।किसानले भेडालाई खोरमा नभई आकाशमुनि खुला छाड्ने गर्थेँ । खुला छाड्दा चिसोले मर्ने, विभिन्न रोग लाग्ने र चोरी हुने हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए । यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेडाको बच्चा खरिदका लागि चालु आवमा रु एक करोड १२ लाख विनियोजन गरेको थियो ।खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रियामार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले जानकारी दिनुभयो । भेडाका बच्चा खरिदका लागि दुईपटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाइ छ ।खोर र खानेपानी निर्माणका लागि रु ६२ लाख ९४ हजार ७५९ मा ठेक्का लगाई धमाधम काम भएको भन्दै रु १२ लाखमा औषधि खरिदसमेत भइसकेको प्रमुख प्रशासकीय अधिकृत पुन बताउनुहुन्छ । खोर निर्माण र खानेपानीका लागि २०८३ जेठ ६ मा टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनले जिम्मा पाएको उहाँको भनाइ छ । सम्पूर्ण टिएएस इन्जिनियरिङ एन्ड कन्सट्रक्सनका सञ्चालक रेशम अर्यालका अनुसार हालसम्म २२ वटा आधुनिक खोर निर्माण भइसकेका छन् भने खानेपानीको काम पनि अन्तिम चरणमा पुगेको छ । काठ, जस्तापाता र फलामको पोल प्रयोग गरेर खोर निर्माण गरिएको हो । सम्झौता भएको एक महिना नबित्दै ८५ प्रतिशत बढी काम सकिएको उहाँले बताउनुभयो । गोठालालाई पायक पर्नेगरी निसीखोला–६ कोस्का र चोरबासमा खानेपानी व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भइरहेको उहाँको भनाइ छ ।निसीखोला गाउँपालिका–६ का किसान भागीलाल घर्ती मगरले स्थानीय सरकारले किसानको समस्या समाधान गर्न थालेको बताउनुभयो । भेडाबाख्रालाई विगतदेखि नै लेकमै पुगेर खोप दिने गरे पनि यसपालि खोर र खानेपानीको सुविधा दिएको उहाँको भनाइ छ । एउटा खोर बनाउँदा किसानको रु चार–पाँच लाख खर्च हुने भन्दै गाउँपालिकाले अनुदानमा बनाइदिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।काम असार मसान्तमा सकिनुपर्ने पुनले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत पुनले भन्नुभयो, “निसीखोलामा धेरै किसान पशुपालनमा आबद्ध हुनुहुन्छ, त्यसमध्ये वडा नं ५ र ६ का अधिकांश स्थानीय भेडापालन गर्दै आउनुभएको छ, उहाँहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले यस वर्षदेखि सानो प्रयास गरेको हो, खानेपानी व्यवस्थापन र खोर निर्माण भएका छन्, अब अरु काम पनि गाउँपालिकाले गर्ने योजनामा छ ।”

प्रकाशित : ३१ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६