कपिलवस्तु, २५ जेठ
सहकारी क्षेत्रप्रति पछिल्ला वर्षहरूमा देखिएका चुनौती र अविश्वासका बीच मेरिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य केन्द्रित सेवा, डिजिटल प्रविधिको विस्तार, वित्तीय अनुशासन तथा समुदायमुखी कार्यक्रम मार्फत सकारात्मक उदाहरण प्रस्तुत गर्ने लक्ष्य सहित अगाडी बढेको छ। संस्थाले यसै आर्थिक वर्ष २०८२÷०८३ का लागि तयार गरेको नीति, कार्यक्रम तथा बजेटले आधुनिक सहकारीको अवधारणालाई व्यवहारमा उतार्ने स्पष्ट संकेत गरेको छ।
संस्थाले सहकारी सेवालाई डिजिटल माध्यमबाट सदस्यको पहुँचमा पु¥याउने रणनीतिलाई प्राथमिकतामा राखेको छ। ‘मेरिट स्मार्ट एप’ मार्फत मोबाइल रिचार्ज, इन्टरनेट बिल, विद्युत् महसुल, बीमा किस्ता भुक्तानी, हवाई टिकट सेवा, बैंक खातामा रकम स्थानान्तरण, क्यूआरमार्फत रकम झिक्ने सुविधा लगायतका सेवाहरू विस्तार गर्ने योजना अघि सारेको छ। यसले सदस्यलाई सहकारीको सेवा घरदैलोमै उपलब्ध गराउने विश्वास गरिएको छ।
डिजिटल वित्तीय सेवाको बढ्दो प्रयोगसँगै सहकारी क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन संस्थाले विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। विशेषगरी स्मार्टफोन प्रयोगकर्ता सदस्यलाई विद्युतीय कारोबारमा प्रोत्साहित गर्दै नगद रहित कारोबार संस्कृतिको विकासमा योगदान पु¥याउने लक्ष्य लिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज खनालको भनाई रहेको छ।
संस्थागत सुशासनलाई थप बलियो बनाउन आवश्यक नीति, कार्यविधि तथा विनियमहरूको निर्माण र संशोधनलाई समेत प्राथमिकतामा राखिएको छ। सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमिति, शेयर सदस्य तथा विषय विज्ञहरूको सहभागितामा कार्यशाला तथा छलफल सञ्चालन गरी संस्थाको दीर्घकालीन मार्गचित्र तयार पारिएको जनाएको छ। सहकारीको दिगोपनाका लागि नीति निर्माण प्रक्रियामा सदस्य सहभागिता बढाउने प्रयासलाई सकारात्मक रूपमा हेरिएको छ।
सदस्य हितलाई केन्द्रमा राख्दै संस्थाले यसै वर्ष सदस्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। सदस्यहरूको आर्थिक सुरक्षाका लागि बीमा प्रणाली लागू गर्ने योजनाले सहकारी प्रतिको सदस्यको भरोसा अझ मजबुत हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, ज्येष्ठ शेयर सदस्यहरूको सम्मान स्वरूप २५ जना सदस्यलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराउने कार्यक्रम राखिएको छ। बाल बचतकर्तालाई बचत संस्कृतिप्रति आकर्षित गर्न ३५ जना बाल बचत सदस्यलाई नजिकको पर्यटन स्थलमा शैक्षिक तथा अवलोकन भ्रमण गराइने भएको छ। यसले सहकारीलाई केवल वित्तीय संस्था नभई सामाजिक उत्तरदायित्व बहन गर्ने समुदायको साझा संस्था बनाउने उद्देश्य झल्काउँछ।
वित्तीय पक्षतर्फ हेर्दा संस्थाले आगामी आर्थिक वर्षका लागि करिब ६१ करोड ८३ लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने अनुमान गरेको छ। सदस्यलाई प्रवाह गरिएको कर्जा ४८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ भने निक्षेप दायित्व ३२ करोड ८१ लाख रुपैयाँभन्दा बढी रहने अनुमान छ। यसले संस्थाको वित्तीय आधार मजबुत हुँदै गएको संकेत गर्दछ।
संस्थाले यसै वर्ष ऋण लगानीबाट ६ करोड ८ लाख रुपैयाँभन्दा बढी ब्याज आम्दानी गर्ने लक्ष्य राखेको छ। बैंक ब्याज, सेवा शुल्क, रेमिट सेवा, ऋण आवेदन शुल्क, शेयर लगानीबाट प्राप्त लाभांश लगायतका स्रोतबाट समेत आम्दानी वृद्धि गर्ने योजना बनाइएको छ। अर्कोतर्फ निक्षेपको ब्याज, कर्मचारी व्यवस्थापन, प्रविधि विकास, सफ्टवेयर नवीकरण, मोबाइल बैंकिङ एप सञ्चालन तथा सदस्य सेवामा गरिने खर्चलाई व्यवस्थित ढंगले अघि बढाइने भएको छ।
सहकारी अभियानको मूल मर्म ‘आफ्नो संस्था, आफ्नै जिम्मेवारी’ भन्ने भावनालाई आत्मसात गर्दै मेरिट सहकारीले आर्थिक कारोबारसँगै सामाजिक विकास, सदस्य सशक्तीकरण र डिजिटल रुपान्तरणलाई एकसाथ अघि बढाउने स्पष्ट रणनीति लिएको देखिन्छ।
सहकारी क्षेत्रप्रति समाजमा विश्वास पुनःस्थापित गर्न पारदर्शिता, सुशासन, प्रविधिमैत्री सेवा र सदस्य केन्द्रित कार्यक्रम अपरिहार्य मानिन्छन्। मेरिट बचत तथा ऋण सहकारी संस्थाले अघि सारेका कार्यक्रमहरूले सहकारी केवल बचत र ऋणको माध्यम मात्र नभई सामाजिक रूपान्तरण, वित्तीय पहुँच विस्तार र समुदाय विकासको प्रभावकारी आधार बन्न सक्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको सहकारीका अध्यक्ष विष्णु प्रसाद खनालको भनाई रहेको छ ।









प्रतिक्रिया