गण्डकी

कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्लाका चार स्थानीय तह सिल



बागलुङ, ११ जेष्ठ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो ।स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । “एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ ।

                बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ ।बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ । भारतबाट आउनेको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताउनुभयो । भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन् । पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन् ।शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन् । उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टिनमा राखिएको गाउँपालिकाले जनाएको छ ।

              झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ । “भारतबाट आउनेको सङ्ख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ”, अध्यक्ष पाइजाले भन्नुभयो, “स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ ।”भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टिनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ । जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या बढी छ । बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन् । भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरु गरेको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो ।

थपिँदै क्वारेन्टिन

               भारतबाट जिल्ला भित्रनेको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहले क्वारेन्टिन विस्तार गरिरहेका छन् । गलकोट नगरपालिकाले ११ वटै वडालाई कम्तीमा १० श्ययाको क्यारेन्टिन बनाउन निर्देशन दिएको छ । सबै वडा क्वारेन्टिन व्यवस्थापनमा जुटेका छन् । वडा नं ३ ले १५ श्ययाको क्वारेन्टिन बनाएको छ । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको हो ।क्याम्पसको कोठालाई क्वारेन्टिनका रूपमा प्रयोग गरिएको छ । “क्वारेन्टिन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानिटाइजरसम्म श्ययामै उपलब्ध गराएका छौँ”, वडाध्यक्ष वीरजङ्ग भण्डारीले भन्नुभयो । शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्ने योजना बनाएको छ । क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नेछन् ।

              “तत्कालाई भारतबाट आउने नागरिकलाई लक्षित गरी क्वारेन्टिन बनाएका छौँ, आवश्यकता पर्दा श्यया थपिनेछ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । सङ्क्रमणको जोखिम हुन नदिन गलकोट क्षेत्रमा पनि विशेष सावधानी र सतर्कता अपनाइएको छ । गत वैशाख ११ गते गलकोटबाट पर्सा पुगेका १४ जना मजदुरमा कारोना सङ्क्रमण पुष्टि भएपछि गलकोटमा एकाएक त्रास छाएको थियो ।तत्कालै स्वास्थ्य कार्यालयले ‘कन्टयाक्ट ट्रेसिङ’ गरी गलकोटका १०९ जनाको कोरोना जाँच गरेको थियो । पिसीआर विधिबाट गरिएको जाँचमा सबैको रिपोर्ट नेगेटिभ आएपछि तत्काललाई त्रास घटेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर ३५० भन्दा बढी श्यया रहेका क्वारेन्टिन तयारी अवस्थामा छन् । यस्तै १६ श्ययाको आइसोलेसन बनाइएको छ । गत चैतमा सङ्क्रमित जिल्लाका दुई जना निको भइ घर फर्किसकेका छन् । त्यसयता नयाँ सङ्क्रमण देखिएको छैन ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६