प्रदेश

संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी



अर्घाखाँची १३ जेष्ठ । अर्घाखाँची र गुल्मीमा भारतबाट फर्किएका तीन व्यक्तिसहित  चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये अर्घाखाँचीका दुई जना  तथा गुल्मीका दुईमध्ये एक जना भारतबाट फर्किएका युवा हुन् । संक्रमित अर्का भने स्थानीयवासी युवक हुन् ।अर्घाखाँचीमा संक्रमण देखिएका व्यक्ति यही जेठ २ गते भारतको रायबरेली भन्ने ठाउँबाट पैदलै हिँडेर गृह जिल्ला आइपुगेका हुन् । जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माविको क्वारेन्टिनमा राखिएको थियो ।  भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टिनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिनुभयो । संक्रमण देखिएका दुवैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो । उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । 

            जिल्लामा पछिल्लो एक सातामा भारत तथा छिमेकी जिल्लाबाट आउने एक हजार ६२२ पुगेका छन् । रोजगारीका सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिमले रोजगारी गुमाउन थालेपछि धमाधम गृह जिल्ला फर्किन थालेका छन् ।  पछिल्लो एक सातामा सन्धिखर्क नगरपालिकाका १७९, भूमिकास्थान नगरपालिकाका ४०९, शीतगंगा नगरपालिकाका ५०१, पाणिनी गाउँपालिकाका  ११६, मालारानी गाउँपालिकाका ३२१  र छत्रदेव गाउँपालिकाका ९६ जना जिल्ला प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । बाहिरबाट आएका सबैलाई स्थानीय पालिकाका क्वारेन्टिनमा राखिएको छ ।

            गुल्मी –संक्रमण पुष्टि भएका धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुष १० दिनअघि भारतबाट आएका हुन् । उनलाई अन्य रोग पनि देखिएपछि शनिबार पिसिआर परीक्षणका लागि स्वाब पठाइएकामा सोमबार साँझ कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको हो । उनीसँगै रहेकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनी विद्यालयको क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । 

             संक्रमण पुष्टि भएका अर्का ३६ वर्षीय पुरुषलाई भने कोरोना कसरी लाग्यो भन्ने स्रोत खुलेको छैन । धुर्कोट गाउँपालिकाकै अर्का एक जनाको पिसिआर रिपोर्ट आउन बाँकी  छ । पुरुषको सम्पर्कमा आएका जिल्लाका विभिन्न ठाउँका थप ४० जनाको सोमबार अबेरसम्म लगाएर स्वाब संकलन गरिएको छ । संकलित स्वाब आज पठाउने तयारी भइरहेको आचार्यले जानकारी दिनुभयो । यससँगै गुल्मीमा कुल चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भइसकेको छ भने ३१ वर्षीय पुरुषको भने आइसोलेशनमा उपचार भइरहेको छ ।

प्युठानमा भारतबाट आएकाको नेगेटिभ 

     झिमरुक– भारतबाट आई स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेका माण्डवी गाउँपालिकाका १७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वडा नं ३ माण्डवी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाको  नेगेटिभ आएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो । पालिकाको वडा नं ५ रम्दीका उनीहरुको भारतबाट आएको छैटाँै दिनमा पिसिआर परीक्षण गरिएको र  उनीहरुलाई १४ दिनपछि घर पठाइने जनाइएको छ । त्यस्तै माण्डवी पालिकामा कार्यरत  स्वास्थ्यकर्मी, देवीस्थान प्रहरीचौकीका इञ्चार्ज र  जिल्ला ट्राफिक इञ्चार्ज गरी चार जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

     यस्तै ऐरावती गाउँपालिकामा भारतबाट आएका सात व्यक्तिको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । ऐरावती २ मोती माध्यमिक विद्यालय बरौलामा बस्दै आएका सात जनाको  रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताउनुभयो । 

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६