पर्यटन

सगरमाथा दिवस : आरोहण नभएको अवस्थामा दिवस मनाउन विवस



काठमाडौँ १६ जेष्ठ । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि शुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।  पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ भने मे २९ मानिस र सगरमाथाबीचको सामिप्यता बढाउने दिन हो ।  

           यो वर्षको वसन्त ऋतुमा सगरमाथा सहित नेपालका सबै हिमालहरु सुनसान बनेका छन् । विगत वर्षमा यो समय आरोहीको भीडभाड तथा चहलपल बाक्लो हुने सगरमाथा क्षेत्रसहितका हिमाल एवं हिमशृङ्खला यो वर्ष भने विश्वभर फैलिएको कोरोना महामारीका कारण सुनसान बनेको छ । कोरोना भाइरस सङ्क्रमणको डरले यात्रा रोकिंदा आरोहीहरु आउन सकेका छैनन् । सरकारले सबै हिमाल आरोहण कार्य यो मौसमका लागि बन्द गरेको छ । सगरमाथा आरोहणका क्रममा अहिलेसम्म विभिन्न कीर्तिमानी कायम भएको छ । आरोहण यात्रा शुरु भएयता अहिलेसम्म करिब १२ हजारभन्दा बढी स्वदेशी तथा विदेशीले सगरमाथा आरोहण गरिसकेका छन् ।

             तीन महिना सगरमाथाको आधारशिविर भरिभराउ हुने, त्यस क्षेत्र वरपर सरसफाइ गर्ने लगायतको काम हुने भए पनि अहिले सबै कार्य ठप्प भएको पर्यटन व्यवसायी किताबसिं तामाङको भनाइ छ । विसं २०७२ को महाविनाशकारी भूकम्पले थलिएको आरोहण क्षेत्र क्रमैसँग माथि उठ्दै गएको भए पनि यो वर्ष सुनसान हुने यहाँका पर्यटन व्यवसायीसहित सिङ्गो राज्यलाई नै ठूलो नोक्सानी भएको छ । जसले गर्दा यस क्षेत्रका होटल व्यवसायसमेत धरासायी बनेको नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाको भनाइ छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६