काठमाडौँ १८ जेष्ठ । राष्ट्रियसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।छलफलमा सत्तारुढ सांसदले अहिलेको आवश्यकतालाई प्राथमिकता दिएर बजेट आएको बताउनुभयो । यसैगरी प्रतिपक्षी दलका सांसदले बजेटले प्राथमिकता र आवश्यकताका विषयलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा खतिवडाले आगामी आव २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरी सरकारले ल्याइएको बजेट सटिक र सान्दर्भिक रहेको बताउनुभएको छ । उहाँले कोभिड–१९ पछिको अर्थतन्त्रलाई गतिशील बनाउने गरी बजेटले अहिलेको असामान्य परिस्थितको सम्बोधन गरेको बताउनुभयो ।स्वास्थ्य क्षेत्रमा ३२ प्रतिशत बजेट बृद्धि गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनजस्ता कामलाई प्राथमिकता दिनु निकै सकारात्मक भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले तीन वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र सबै प्रदेशमा सुविधासम्पन्न अत्याधुनिक अस्पताल सञ्चालन गर्नेजस्ता राम्रा कार्यक्रम बजेटमा समेटिएको छ भन्नुभयो ।नेकपाका प्रवक्ता समेत रहनुभएका सांसद श्रेष्ठले रोजगारी सिर्जना तथा उत्पादन अभिवृद्धि गरी सामाजिक न्यायसहितको समाजवाद निर्माण गर्ने सिद्धान्तसहित बजेट आएको उल्लेख गर्नुभयो ।बजेटका धेरै कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि कोभिड–१९ पछि ‘गेम चेन्जर’ परियोजना र ‘भिजन’ प्रस्तुत हुनुपर्ने थियो त्यो अपुरो रहेको छ भन्नुभयो । सोही पार्टीका सांसद दिलकुमारी रावल थापा पार्वती ले बजेट अहिलेको आवश्यकता अनुरुप वस्तुपरक र यथार्थ रहेको हुँदा यसको कार्यान्वयन पक्षमा जोड दिनुभयो । उहाँले बजेटका सिद्धान्त र प्राथमिकता वर्तमान आवश्यकतासँग सान्दर्भिक रहेको बताउनुभयो ।
सोही पार्टीका अर्का सांसद विमला घिमिरेले सन्तुलित र समयानुकुल बजेट आएको हुँदा यसको कार्यान्वयनका लागि तीन तहको सरकार र प्रशासन यन्त्रको सक्रियता चाहिने खाँचो औँल्याउनुभयो ।सोही पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठले नेकपाको घोषणापत्रलाई सम्बोधन गर्ने गरी आएको र अहिलेको कोभिडको महामारी नियन्त्रणलाई बजेटले ध्यान दिएको बताउनुभयो । उहाँले कोभिडले थलिएको मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र स्वास्थ्य क्षेत्रको आवश्यकता परिपूर्तिका लागि पनि बजेटले व्यवस्था गरेको उल्लेख गर्नुभयो ।नेकपाका सांसद खिमकुमार विश्वकर्माले समय सान्दर्भिक दिगो विकास र सुशासनलाई बजेटले प्राथमिकता दिएको बताउनुभयो ।
नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले बजेट समाजको कुन वर्गका लागि हो भनी प्रश्न गर्दै यो बजेट सुकिला, मुकिला टाइसुट लगाउनेका लागि मात्र भएको टिप्पणी गर्नुभयो । सर्वहारा, विपन्न र गरिब वर्गको लागि बजेटले प्राथमिकता नदिएको र भोका निमुखा गरिब जनताको पक्षमा बजेटले नबोलेको उहाँले टिप्पणी गर्नुभयो । राष्ट्रिय जनता पार्टीका सांसद मृगेन्द्रकुमार सिंह यादवले कृषि उत्पादन, स्वास्थ्य प्रवद्र्धनजस्ता विषयलाई अपेक्षित कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । उहाँले सांसद विकास कोषलाई कोभिड–१९ महामारी नियन्त्रणका परिचालन गर्नुपर्नेमा बजेट कनिका छरिएसरह सबै क्षेत्रलाई विनियोजन गरिएको टिप्पणी गर्दै बजेटलाई रोग र भोकसँग जुध्ने गरी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।समाजवादी पार्टीका सांसद प्रमिला कुमारीले कोभिड–१९ को रोकथाम तथा अन्य सरुवाजन्य रोगको निरुपणका लागि बजेटले प्राथमिकता दिनु सकारात्मक भएको बताउनुभयो । उहाँले बजेटले वित्तीय सन्तुलन र क्षेत्रगत समानता कायम गर्न नसकेको र अहिलेको सङ्कटको अवस्थामा स्वास्थ्य र कृषिजस्ता विषयलाई बजेटले प्राथमिकता दिन नसकेको बताउनुभयो ।
प्रतिक्रिया