प्रदेश

घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै



काठमाडौं,२० जेठ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

            आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उहाँले दिनुभयो ।

        तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ । (रासस)

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६