बाँके, १६ भदौ
भोटेकोशी बाढीबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै नेपालगन्जमा आयोजना गरिएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम स्थगित गरिएको छ । भोटेकोशी बाढी र त्यसले उत्पन्न गरेको परिस्थितिका कारण यही भदौ २१ गतेका लागि तय भएको ‘दौडिन्छिन् हजुरआमा’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको कार्यक्रम संयोजक सजल गैरेले जानकारी दिनुभयो । दैनिक नेपालगन्जको प्रकाशन संस्था सम्यक मिडिया हबले ‘द गोल्डन ग्राण्डमा’अन्तर्गत सो कार्यक्रम आयोजना गर्न लागेको थियो । देशका विभिन्न क्षेत्रमा विपद्का कारण नागरिक प्रभावित भएकाले राहत तथा उद्धारमा लाग्ने निष्कर्षसहित तत्कालका लागि सबै कार्यक्रम स्थगित गरिएको दैनिक नेपालगन्जका सम्पादक तथा प्रकाशक झलक गैरेले जानकारी दिनुभयो । “उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले गरिरहेका प्रयासमा नागरिक, निजी क्षेत्र तथा सङ्घसंस्थाले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने अवस्था आएकाले हामी यो निर्याणमा पुगेका हौँ”, उहाँले भन्नुभयो । ज्येष्ठ नागरिक महिलाको सक्रियता, स्वास्थ्य, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ‘द गोल्डन ग्राण्डमा’ अभियान अघि बढाइएको हो । यसअन्तर्गत ‘दौडिन्छिन् हजुरआमा’ र ‘भन्छिन् हजुरआमा’जस्ता कार्यक्रम हुँदै आएका छन् । हाललाई ‘दौडिन्छिन् हजुरआमा’ कायक्रम स्थगित भए पनि ‘द गोल्डेन ग्राण्डमा’ले अघि सारेको सामाजिक अभियानको मूल उद्देश्यमा भने आफूहरु अग्रसर रहने आयोजकको भनाइ छ । विपद्का समयमा प्रभावित नागरिकको सहयोगलाई प्राथमिकतामा राख्दै मानवीय दायित्व निर्वाह गर्न सबैलाई अपिल गरिएको छ । –––










प्रतिक्रिया