बाणगंगा, कपिलवस्तु ११ भदौं
करसम्बन्धी सेवा लिन सेवाग्राहीले अन्यत्र धाउनुपर्ने बाध्यता अन्त्य गर्दै बाणगंगा नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (पान) लिन सकिने सुविधा सुरु गरिएको छ।
नगरपालिकाको सभाहलमा बिहीबार आयोजित करदाता सेवा प्रवाहको शुभारम्भ तथा करदाता शिक्षा सम्बन्धी कार्यक्रममा उक्त सेवाको औपचारिक सुरुवात गरिएको हो। स्थानीय तहबाटै कर सम्बन्धी सेवा उपलब्ध हुन थालेपछि बाणगंगा नगरपालिकाका सेवाग्राहीलाई कर दर्ता तथा करसम्बन्धी आधारभूत प्रक्रिया पूरा गर्न सहज हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, वडा अध्यक्षहरू तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको नगरपालिकाका राजस्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिनुभयो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्णप्रसाद न्यौपानेको आतिथ्यता रहेको थियो। कर अधिकृत पिताम्बर न्यौपानेले करदाता शिक्षा तथा करसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।
करसम्बन्धी सेवा लिनका लागि सेवाग्राहीले कार्यालय–कार्यालय धाउनुपर्ने अवस्थाले समय र खर्च दुवै बढाउने गरेको थियो। नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान नम्बर लिने सुविधा सुरु भएपछि स्थानीय बासिन्दा तथा व्यवसायीलाई कर प्रशासनसँग जोडिन थप सहज हुने विश्वास लिएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाइ रहेको छ ।

स्थानीय तहमा करदाता सेवा विस्तार हुनु सेवा विकेन्द्रीकरणको विषय मात्र नभई कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढाउने माध्यम समेत बनेको छ । कर दर्ता, करसम्बन्धी जानकारी तथा आवश्यक प्रक्रियाबारे स्थानीय स्तरमै जानकारी पाउँदा नयाँ व्यवसाय सुरु गर्ने व्यक्ति तथा साना उद्यमीलाई समेत औपचारिक कर प्रणालीमा आउन प्रोत्साहन मिल्ने विश्वास लिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको भनाइ रहेको छ ।










प्रतिक्रिया