पर्यटन

तीन जिल्लाको संगम स्थल रिडीमा बन्दै गरेको तीनमुखे पुल यस्तो हुनेछ



पाल्पा, २० जेठ ।  बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र  पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण  जारी रहेको छ ।

        करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अलपत्र  पुल निर्माणलाई अघि बढाउन निर्देशन दिएपछि बन्दाबन्दीमा निर्माण रोकिएको छैन । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीका करणजीत बर्माले  झण्डै ८० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो ।        पुलको स्याङ्जातर्फको टावर ब्लक निर्माण सम्पन्न भइसकेको छ । अब मुख्य पिलरको पाँचाँै तलामा काम भइरहेको छ । पिलर सात तला बनेपछि भ्युटावरको निर्माण काम पूरा हुने बर्माले बताउनुभयो । पाल्पा र गुल्मीतर्फको पिलरको काम यस महिनामा सम्पन्न हुनेछ ।

        कोभिड –१९ को महामारीमा पनि कामदारले कामलाई निरन्तरता दिएका हुन् । कामदारमा अहिले कोभिड –१९ का कारण मनोबल कमजोर भइरहेकाले काम अघि बढाउन आगामी महिना समस्या हुने बर्माको धारणा छ । गुल्मी जिल्लामा कोभिड –१९ को प्रभाव बढ्दो मात्रामा देखिएको छ । यसै आवमा काम सम्पन्न हुने भए पनि बन्दाबन्दीले सामग्री ल्याउन समस्या हुँदै आएको छ ।

        सङ्घीय सरकारको कुल रु नौ करोड ८८ लाख २६ हजार ३३२ लागतमा पुल निर्माण भइरहेको हो । नयाँ बाटो रुबिनामना जेभीले निर्माणको जिम्मा पाए पनि  ढिलासुस्ती हुँदा स्थानीय बासिन्दा पुल नै नबन्ने हो कि भन्ने चिन्तामा  रहँदा निर्माण धमाधम भएपछि खुशी देखिएका छन् । नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाउँपालिका, पाल्पा तानसेनको अर्गली र  स्याङ्गजाको कारीकोट जोड्ने झोलुङ्गेपुल निर्माण हुँदा स्थानीय बासिन्दामा खुशी छाएको हो । 

        पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा बन्ने तीनमुखे पुल नेपालकै नमूना बन्ने रुरु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताउनुभयो । पुल बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने उहाँको विश्वास छ । 

        कालीगण्डकीको किनारबाट नै पाल्पा, गुल्मी र स्याङ्जा जोडिने  पुल बनेपछि आवतजातमा सहज हुने स्थानीय बासिन्दा चूरामणि तिमिल्सेनाले बताउनुभयो ।  धार्मिक पर्यटन गन्तव्यका रुपमा प्रख्यात रिडीमा पर्यटक आगमन बढ्दा समग्र यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने तिमिल्सेनाको जिकिर छ । विसं २०७१ मंसिर १५ गते शिलान्यास गरिएको पुल निर्माण पक्षको लाहपरबाहीका कारण अलपत्र अवस्था रहेको थियो । परराष्ट्रमन्त्रीका सचिवालय सदस्य जंग नेपालीका अनुसार चुनाव जितेपछि अलपत्र पुल निर्माणले निरन्तरता पाएको छ । मन्त्रीको निर्देशनपछि तीनमुखे पुल निरन्तर रुपमा भइरहेको र यसै आव २०७६।०७७ मा काम सम्पन्न हुने नेपालीले बताउनुभयो । 

        सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सड्क विभागको सहयोगमा पुल निर्माण भइरहेको छ । कुल ५४० मिटर लम्बाइ रहने पुलका प्रत्येक तीन  लुठ्ठाको लम्बाइ १८० मिटर हुनेछ । नेपालकै चार धाममध्ये९मुक्तिनाथ, बराह, देवघाट० रुरु एक हो । यस क्षेत्रलाई भारतको बनारससँग पनि तुलना गर्ने चलन छ । रिडीस्थित शालिग्राम पाइने कालीगण्डकी नदीमा स्नान गर्दा  पुण्य प्राप्ति हुने विश्वास छ ।  रिडी पौराणिक कालदेखि नै पवित्र तीर्थस्थलमा रुपमा परिचत छ । पाल्पाको अर्गलीतर्फको भागमा ऋषिकेश मन्दिर र  गुल्मी जिल्लाको रिडीतर्फ रुरुकन्याको तपोभूमि रहेको पाइन्छ ।  (रासस)

प्रकाशित : २० जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६