प्रदेश

आज राती लाग्ने चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति



काठमाडौं, २३ जेठ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

        “नदेखिने ग्रहणका विषयमा पात्रो पञ्चाङ्ग मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो । विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ ।

  नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । 

   यो छायाँजनित ग्रहण भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुनसक्ने सोसाइटीले जनाएको छ । “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, उहाँले भन्नुभयो । ग्रहण आज राति ११ः३० बजे शुरु भई १ः०९  बजे मध्य हुनेछ । राति २ः४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ । 

के हो पेनम्ब्रल’ चन्द्रग्रहण 

     सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । चन्द्रमा पृथ्वीको विरल छायाँमा पर्नु नै ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो ।

  पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी सुनेको सुतक र देखेको ग्रहणमात्र लाग्ने शास्त्रीय मान्यताअनुसार आज राति लाग्ने चन्द्रग्रहणको प्रभाव नेपालमा नपर्ने भएको बताउनुहुन्छ । यो ग्रहण नेपाल र भारतबाट समेत हो कि जस्तो मात्र देखिने र प्रष्ट नहुने भएकाले यसलाई विरल छायाँ भनिएको पनि उहाँले बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य नेपालबाट आँखाले नदेखिने ग्रहण आज राति लाग्ने बताउनुहुन्छ ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६