२०४५ सालतिर म प्रवास संगठनको केन्द्रिय अध्यक्ष र पुर्णकालिन कार्यकर्ता थिए । केन्द्रिय समितिको बैठकको लागि मलाई दिल्लीबाट कलकत्ता जान परेको थियो । टिकट रिजर्वेसनको लागि म रेल्वे वुकिङ्ग काउण्टर नयाँ दिल्लिमा गएँ । वुकिङ्ग काउण्टरमा दिल्लीबाट कलकत्ता जाने ६ वटा रेलहरु मध्ये सबैमा रातो टिकि झुण्डाएको थियो जस्को अर्थ हुन्छ तपाइले खोजेको मितिमा रिजर्वेसन छैन । एउटा रेलको मात्रै वुकिङ्ग उपलब्ध छ भन्ने संकेत थियो अथार्त तुफान मेलमा हरियो टिकि झुण्डिएको थियो । रेलको नाम सुन्ने बित्तिकै म आकर्षित भए । तुफान मेलको एक सिट शिलिपिङ रिजर्वेसन गरेर म फर्किए । जानेदिन आयो अनि म कलकत्ताको लागि तुफान मेलु मा आफ्नो सिट खोजेर बसे । रेल अगाडि बढ्यो ।
पाँच सात घण्टा रेल हिडेपछी थाहा लाग्यो कि तुफान मेल एक्सप्रेस त पेशेन्जर गाडिभन्दा पनि अझ खराब रहेछ । दिल्लिबाट चल्ने छ वटा रेलहरु मध्ये राजधानी एक्सप्रेस १८ घण्टा , कालका मेल २२ घण्टा , नयाँदिल्ली हावडा एक्सप्रेस २४ घण्ट तर तुफान मेल ठिक समयमा पुगे पनि ३४ घण्टा समय लाग्दो रहेछ । नाम सुन्दा तुफान मेल तर गाडी सबैभन्दा खराब ! किन यस्तो भएको होला भन्ने मेरो मनमा लागिरह्यो । लखनउबाट गाडी अगाडि बढेपछि मैले रेल्वेका कर्मचारीलाई सोधे देखिए भाइसाहब ! इस गाडिका नाम रखा हे तुफान मेल एक्सप्रेस , लेकिन ये गाडी तो सबसे खराब हे ! येसा कइसे हुआ ! हमारी समझमेतो नहि आया , आप बतादोगे क्या १ू ती कर्मचारीले भने अरे भाइसाहब ! जिस बखत भि ये गाडी चली थि उस बखत ये गाडी एक नम्बरका हिरो था । इन्डियाका सबसे पुराना गाडी हे , उस बखत बयल गाडिमे आदमी चला करते थे । उस जमानेकी ये सुपरफास्ट गाडी हे । अब जमाना बदल गया , डिजल कि इन्जन चलने लगे , इलेक्ट्रिकका इन्जन बन गयि । राजधानी एक्सप्रेस चलने लगे , अच्छे अच्छे सुपर फास्ट गाडी बन गए । इस्को छोड्के सबके सब आगे निकल गए तो ये बेचारा क्या करता १ ए तो अपनि रफ्तारमे चल हि रहा हे । ती कर्मचारीले मलाई सम्झाएका थिए ।
यो कुरा जीवन व्यवहार र राजनितीमा पनि लागू हुन्छ । बुबा , हजुरबुबाका भर परेर घरमा बसि रहने छोराले प्रगति गर्न सक्दैन , छोराले प्रगती गर्न पुरानो बन्धन , परम्परा , पुराना मूल्य , मान्यताभन्दा माथी उठ्नै पर्दछ । शंघर्ष बिना ज्ञान प्राप्त पनि हुदैन र प्रगती पनि हुदैन । प्रगतिको तिम्ति निरन्तरतामा क्रम भंग गर्नै पर्दछ ।
राजनीति बारे पनि यो कुरा साँचो हो । ६५ र ७० वर्ष काटेका बुढाहरुले नै नैया पार लगाइदिनेछन भनी तिनैको वरिपरि घुम्ने , तिनैको चाकरी गर्ने , स्तुति गान र भजन गाउने चिन्तन पद्धतिले युवाको विकास हुदैन । ७० वर्ष वरपरको मान्छे शारीरिक र मानसिक रुपमा समेत कमजोर भइसकेको हुन्छ । उस्मा साहसको कमि हुन्छ , स्मरण शक्ति हराउँदै जान्छ । कुनै जोश , उमंग र जाँगर हुदैन । मेरो उमेरमा म भारतका २१ प्रान्तमा एक्लै घुम्ने गर्दथे , कहिले धर्मशाला , कहिले रेल्वे स्टेशनमा सुतेर रात कटाउँथे , सहर सहरका गल्ली गल्लिहरुमा संगठन गर्नको निम्ति नेपाली दाजुभाइहरु खोज्दै हिड्थे । आज मलाई एक्लै दिल्ली जान डर लाग्दछ । तातोपानी चाहिन्छ , नजिकैमा वाथरुम चाहिन्छ अर्थात युवाको जस्तो जोश अब मसगँ रहेन । यो कुरा सबैको लागि साँचो हो । त्यसैले युवाहरु परजीवी हुने हैन , स्वाभिमानी र शाहसी हुन जरुरी छ । वृध अवस्थामा पुगेका नेताहरुले नै पार्टीको नेतृत्व र सरकारको नेतृत्व समाल्ने कुरा नै बेठिक कुरा हो । मोहनबिक्रम जी असिको वरपर , मोहन वैद्द जी पचहत्तरको वरपर ,शेर बहादुर जी ,रोहित जी , बाबुराम जी , केपि , झलनाथ , माधव जी , महन्त ठाकुर जी , राजेन्द्र महत्तो जी सबै पैसठ्ठी सत्तरीको रेन्जमा हुनुहुन्छ । गर्न केही सक्नु हुन्न तर राजनीतिको नशाले छाडेको छैन । उत्तराधिकारी जन्माउनै चाहानुहुन्न । सत्ता नयाँ पुस्तामा हस्तान्तरण गर्नै चाहानुहुन्न । मर्ने बेलासम्म पनि सत्ता र राजनीति ! यो कुरा बेठिक छ । युवाहरुले नेतृत्व लिनै पर्दछ , युवाहरुले बिद्रोह गर्नै पर्दछ । बिग्रन्छ , भत्कन्छ , टुट्छ , फुट्छ , लोटिन्छ , धक्का लाग्छ फेरि ज्ञान प्राप्त हुन्छ , अगाडि बढिन्छ । मेरो विचारमा आजको आवश्यकता युवा बिद्रोह नै हो । बुढाहरुको दयामा पाउने प्रमोशनको आशामा जिन्दगी बिताउने होइन । सबैले यसरी सोचेउ भने बल्ल देश बन्लाकी १ बुढाहरुलाई अपहेलना गर्ने होइन सम्मान गर्ने , संरक्षक समितिमा राख्ने , सल्लाहकार परिषदमा राख्ने , बुढाहरुले सक्ने काम दिने , बुढाहरुका अनुभवबाट पाठ सिक्ने गर्दा नै राम्रो होला । अब युवाहरु तुफान मेलको पछि लाग्ने होइन , राजधानी एक्सप्रेस , सुपर फास्ट एक्सप्रेसहरु बनाउने ,कोइलाको इन्जन छोडेर विधुतिय रेलको निर्माण गर्ने दिशामा अगाडि बढ्दा कसो होला ।
केही समय पहिले सम्म सबैका खासगरी बामपंथी पार्टीका विधानमा ६५ वर्ष कार्यकारीको प्रावधान राखिएको थियो । पछि वहाँहरुमा सत्ता लिप्साले छोप्दै गयो र त्यो नियम हटाउनु भयो । अत स् अब आफ्नै विरुद्ध , आफ्नै पार्टीका बिरुद्द युवा संगठनहरु , आखिलका बिद्यार्थीहरु , युवासंघका कार्यकर्ताहरु , नेवि संघ र तरुणदलका कार्यकर्ताहरु , जसपा भित्रका युवाहरु , विवेकशील साझाका युवाहरु , मसालभित्रका युवाहरु , वैद्य जीलाई विश्वास गर्ने युवाहरु अर्थात युवाहरु जो जहाँ भएपनी मोर्चाबन्दी गरेर शंघर्षको सुरुवात गर्नुहोस । सबै पार्टिका वृध शाषकहरु युवालाई नेतृत्व दिन बाध्य हुनेछन ।
युवाहरु नबौलाइकन देश बन्दै बन्दैन । बौलाउनु भनेको अगाडि सम्म देख्ने कुरा हो । समाजका सबै मानिसहरुले तुरुन्तै अगाडि देखि हाल्दैनन । त्यसैले अगाडिसम्म देख्ने व्यक्तिलाई उनिहरु बौलाएको मान्छे भन्ने गर्दछन । दुनियाँमा हामीहरु देख्दछौ कि अहिले हामिले जुनजुन व्यक्तिलाई वैज्ञानिक , दार्शनिक वा राजनेता भनेर चिन्दछौं । तिनीहरु सबैलाई प्रारम्भमा समाजले बौलाहा नै भनेको थियो । त्यसैले देश बनाउनको लागि बौलाउन सक्नु पर्दछ । युवाहरु अलिअली अराजक पनि हुनुपर्दछ । परिवारको बन्धन , समाजको र पार्टीको बन्धन अलि अलि भत्काउने हिम्मत नगरिकन अगाडि बढ्न सकिँदैन । मेरो विचारमा यतिबेला युवाहरु तिनवटा विषयलाई लिएर अगाडि बढ्नु पर्दछ । पहिलो कार्यकारी पोष्टमा ६५ वर्षको हद म्याद अनिवार्य गर्नु पर्ने , दोस्रो देशमा महामारीको रुपमा फैलिएको भ्रष्टाचार जस्लाई एक दुइटा मन्त्रालयमा भएका भ्रष्टाचारका समाचार छापेर वा एक दुई हाकिमलाई कालो मोसो दलेर निर्मुल गर्न सकिँदैन । त्यसको लागि अधिकार सम्पन्न जनलोकपाल विर्धयकको व्यवस्था गर्ने र ०४८ सालदेखि यता सत्ताका मुख्य ठाउँमा बसेकाहरुको सम्पतिको छानबिनको सुरुवात गर्ने , तेस्रो देशको कार्यकारी प्रधानमन्त्री होस वा राष्ट्रपति शांसदले चुन्ने होइन कि सिधै जनताले चुन्ने ब्यवस्थाको लागि एक्काइसौं शताब्दीका युवाहरु अगाडि बढ्न सके मात्र देश बन्ने छ । लौ न १ युवाहरु हिम्मत गरौं त १ होइन भने यी उमेर पाकी सकेका , थला परिसकेका , ६५र७० वर्ष पहिला जन्म लिएका सिनियर सिटिजनसिपहरुले देश बनाउँछन भनेर परिकल्पना गर्ने र युवाहरु उनै मध्येको ए ,बि वा सि को छनोटमा घुमिरहने चिन्तन अथवा यो पार्टीका ठाउँमा त्यो पार्टि या त्यो पार्टिका ठाउँमा यो पार्टी रोज्ने चिन्तनले देश बन्दैन । यसर्थ यो चिन्तन , परम्परा र यो शाशकिय प्रणालीबाट बाहिर निस्कौं त , देश किन बन्दैन १ मेरो विचारमा यस्तो लाग्दछ । आगे यहाँहरुको विचार !
प्रतिक्रिया