काठमाण्डौ ७ कार्तिक । कर्णाली प्रदेशभित्र देखिएको विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ । विवाद टुङ्ग्याउन भनेर नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बिहान ११ बजे बस्न लागेको हो । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली भित्रको विवाद सतहमा आएको थियो ।
केन्द्रले नै विवाद मिलाउने भने पनि निष्कर्ष नआएपछि विवाद फेरि प्रदेशमै पुगेको छ । तर असन्तुष्ट पक्षले मुख्यमन्त्रीले पेलेर गएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् । संसदीय दलमा नेकपा कर्णाली प्रदेशका सह(इन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेको भोलिपल्ट मुख्यमन्त्री शाहीले दलको प्रमुख सचेतकको जिम्मेवारीबाट सांसद गुलाबजंग शाहलाई पदमुक्त गरेर सचेतक सांसद सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गर्नुभएको थियो।मुुख्यमन्त्रीले आफू विरुद्ध आएको अविश्वासको प्रस्तावलाई विफल गराउन प्रस्तावमा हस्ताक्षर गरेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सांसदहरुसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने र सचेतक दिने सहमति गरेपछि कर्णालीको विवाद केन्द्रमा टुङ्ग्याउने भन्दै काठमाण्डौ बोलाएपछि उनीहरु काठमाण्डौ गएका थिए ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग दुवै पक्षले दुवै अध्यक्षसँग छलफल गरे पनि निष्कर्षविहीन भएपछि प्रदेशको विवाद प्रदेशमै मिलाउने भनेर विवाद प्रदेशमै आएको छ । काठमाण्डौ गएका मुख्यमन्त्री शाहीलगायतका नेताहरु सुर्खेत फर्किसकेका छन् ।असन्तुष्ट पक्षले बैठकको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।
सांसद गुलाबजंग शाहले आज बस्ने भनिएको बैठकको वैधानिकता नभएको बताउनुभयो । उहाँले केन्द्रमा अविश्वासको प्रस्ताव फिर्ता लिने, मुख्यमन्त्रीले गरेका निर्णय बदर गरेर प्रमुख सचेतकमा पुनर्बहाली गर्ने सहमति हुँदाहुँदै निर्णयलाई नमानेर बैठक बोलाइएको जानकारी दिनुभयो ।प्रमुख सचेतकमा नियुक्त सांसद सीता नेपालीले बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल गरिने र आजै कर्णालीमा देखिएको विवाद टुङ्गिने बताउनुभयो ।
प्रतिक्रिया