नेपालगन्ज । बाँकेमा कोरोना संक्रमितहरु थपिने क्रमसँगै कम उमेरका संक्रमितहरुको मृत्यु हुने जोखिम पनि बढेको छ ।पछिल्लो १ महिनामा बाँकेमा मृत्यु हुनेहरुको उमेर समूह ६० वर्ष मुनिका पनि देखिएका छन् ।पहिलो पटक कोरोना संक्रमणकै कारण एक जना वरिष्ठ चिकित्सकको समेत मृत्यु भएपछि बाँकेमा जोखिम बढेर गएको आंंकलन गरिएको छ ।स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेमा हाल कोरोना संक्रमण भएर उपचार गराइरहेका बिरामीमध्ये २० जना गम्भिर अवस्थामा रहेका छन ।जिल्लमा गम्भिर अवस्थामा रहेका संक्रमितहरुमा भेरी अस्पतालमा १६ जना र नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा ४ जना छन् ।
बाँकेमा आइसोलेसन अस्पतालमा भर्ना भएका लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या १०६ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।स्वास्थ्य अवस्था समान्य रहेका ४२ जनाले शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका छन् भने लक्षण नदेखिएका ३९ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन ।
आइसोलेसनमा रहेका मध्य भेरी अस्पतालमा ४२ जना र शिक्षण अस्पताल कोहलपुरमा २ गरी ४४ जना मध्यम खालका विरामि रहेको फोकलपर्शन श्रेष्ठले बताए ।जिल्लामा संक्रमित थपिने क्रम लगातार बढेपछि भेरी अस्पतालमा सञ्चालनमा रहेको कोरोना बिशेष वार्डको स्तरोन्नती गर्दै ७५ बेड थप्ने निर्णय गरिएको छ ।गत बुधबार बसेको जिल्ला बिपद ब्यवस्थापन केन्द्रले भेरी अस्पतालमा कोरोनाका संक्रमितको उपचारका लागि ७५ बेड थप्ने निर्णय गरेको हो ।
तत्काल ७५ बेड थप गर्नका लागि बाँकेका स्थानीय तहबाट १ करोड प्रदान गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् ।प्रजिअ कुरुम्वाङले १ महिना पहिलेदेखि नै संक्रमित थपिने क्रम बढ्दै गएको भन्दै २०० बेडको कोरोना अस्पताल बनाउन आवश्यक रहेको कुरा आफ्नो फेसबुकमा पोष्ट गर्दै आएका थिए ।उनको पहलमा बाँकेमा राष्ट्रसेवक कर्मचारी, संघसंस्था तथा सरकारी र गैर सरकारी संस्थाबाट आर्थिक सहयोग उठाउने अभियान सुरु भएको थियो ।राष्ट्रसेवक कर्मचारीहरुबाट १५ लाख अस्पताल निर्माणका लागि सहयोग उठेको र अन्य दाताहरुबाट समेत गरि ५० लाख बढी रकम संकलन भएको प्रजिअ कुरुम्वाङले बताए ।
खबरका कुरा
प्रतिक्रिया