काठमाण्डौ ३ कार्तिक । इटालीमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमण बढ्न थालेपछि इटाली सरकारले लकडाउनको विकल्पको खोजी गर्दै नयाँ प्रतिबन्धात्मक नियमहरु घोषणा गरेको छ । प्रधानमन्त्री जुसेपे कोन्तेले फेरि लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागू गर्नु परेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।स्कुलका माथिल्लो कक्षाका विद्यार्थीहरुको विद्यालय समय कम गर्ने तथा सकेसम्म घरबाटै अध्ययन गर्ने व्यवस्था मिलाउने, बार तथा रेस्टुरेन्टहरु मध्यरातमा बन्द गर्नुपर्ने, बढीमा एक समूहमा ६ जना जम्मा हुन पाउने तथा स्थानीय सभा सम्मेलन तथा उत्सवहरु गर्न नपाइने भएको छ ।
इटालीमा पछिल्ला दिनहरुमा लगातार सङ्क्रमितको संख्या बढ्दै गएको छ । हिजो एकै दिन ११ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको महामारीको पहिलो लहरमा युरोपमा सबैभन्दा पहिले सबैभन्दा बढी प्रभावित हुने देश इटालीमा अहिले महामारीको दोस्रो लहर सुरु भएको हो ।युरोपका अरु देशहरुमा पनि सङ्क्रमण बढ्दै गएको छ ।
प्रतिक्रिया