ब्रेकिंग न्युज

नेकपा इतिहासकै कठिन मोडमा ,आजको बैठकसंगै भविश्य फैसला



काठमाडौं, २८ कार्तिक । दुई दुई अध्यक्षबीचको लामो रस्साकस्सीपछि आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन् । बैठकको पूर्व सन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटेका छन् । अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन् ।

    दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन् । हाल प्रचण्ड–नेपाल समूहमा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा अन्योल नै रहेको स्रोत बताउँछ । गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए । त्यसकारण यसपटक बैठकमा उनले व्यक्त गर्ने धारणा नेकपाका नेता–कार्यकर्ताका लागि चासो बनेको छ ।

    गौतम निकट नेताका अनुसार भने यसपटक गौतमले पार्टी विधि र पद्धतिमा केन्द्रित रहेर धारणा राख्ने छन् । उनले बिहीबार प्रचण्डसँगको भेटमा पनि आफू यस पटक दायाँ बायाँ नगर्ने प्रतिबद्धता जनाएको स्रोतले बताएको छ । तर, महासचिव पौडेलले पनि बिहीबार बिहान गौतमसँग भेट गरेकाले उनको भूमिका के होला भनेर नेकपाभित्र अझै सन्देह छ ।

    सचिवालयका एक सदस्यले बैठकका एजेण्डा भने तय भइनसकेको बताए । सचिवालयमै छलफल गरी त्यहीं नै एजेण्डा तय गर्ने तयारीमा प्रचण्ड–नेपाल पक्ष देखिएको छ । दुवै पक्षबीच स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन, कर्णालीको पार्टी विवाद, भारतीय गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटलगायत विषयमा चर्काचर्की पर्न सक्ने देखिएको छ ।

    प्रचण्ड–नेपाल पक्ष स्थायी समिति बैठक बोलाउन दबाब बढाउने गरी अगाडि जान खोजेको स्रोतले बताएको छ । ओली पक्षले भने सकभर विषयलाई समझदारीका साथ सचिवालयमै नै टुंग्याउने रणनीति बनाएको छ । नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए ।

गत २२ कातिकमा लिखित रूपमै बहुमत सचिवालय सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गर्दा उनले अस्वीकार गरेका थिए । त्यसपछि २५ कात्तिकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई भेटेरै बैठकका लागि पुनः आग्रह गर्दा समेत ओलीले अस्वीकार गरेका थिए । आजको वैठकमा ओली र प्रचण्ड–नेपाल समूह एकअर्काविरुद्ध खरो उत्रने रणनीतिमा रहेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६