अर्थ-वाणिज्य

उधारो वार्ता गर्दैनौँ : उखु किसान



काठमाडौँ ३० मंसिर ।  चिनी उद्योगीले वर्षौंदेखिको करिब ९० करोड रूपैयाँ बक्यौता नतिरेको भन्दै राजधानीकेन्द्रित आन्दोलनमा उत्रिएका उखु किसानले उधारो वार्ता नगर्ने बताएका छन्। सरकारले उखु उद्योगीसहित किसान अगुवालाई सोमबार वार्ताका लागि बोलाए पनि विगतका प्रतिबद्धता पूरा नभएको भन्दै किसान प्रतिनिधि सहभागी भएनन्।

  माइतीघरमा भेला भएर आइतबारदेखि आन्दोलन गरिरहेका उखु किसानलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्तामा डाकेको थियो। किसान अगुवा प्रतिनिधि वार्तामा नगएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतिलाल दुगडले चिनी उद्योगीसँग मात्र छलफल गरे। उखु किसान सोमबार पनि माइतीघरमा धर्ना बसे।

सरकार साक्षी बसेर गत वर्ष उद्योगीले गरेका प्रतिबद्धता पूरा नगरेकाले उधारो वार्तामा बस्नुको औचित्य नभएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए। ‘गत वर्ष बक्यौता रकम चुक्ता गराउन भनेर सरकार साक्षी बसेको हो तर रकम मिलेन,’ मिश्रले भने, ‘उधारो वार्ता गर्नु औचित्य छैन।’ सरकारले पटकपटक झुक्याउने काम गरेको उनले बताए।सरकारले जिम्मा लिए मात्र आन्दोलन स्थगित गर्ने किसानको माग छ।

‘विगतमा शब्दको खेलमा किसानलाई झुक्याउने काम भयो,’ मिश्रले भने। प्रधानमन्त्री राहत कोषमा भएको रकम किसानलाई दिएर सरकारले चिनी उद्योगीसँगबाट बाँकी रकम असुलउपर गर्न सक्ने उनले बताए। ‘सरकारले प्रधानमन्त्री कोषबाट हामीलाई पैसा देओस्,’ मिश्रले भने, ‘उद्योगीसँगबाट सरकारले असुल गरोस्।’

उखु किसान संघर्ष समितिका अनुसार रौतहटमा रहेको श्रीराम सुगर मिलको ३५ करोड रूपैयाँ, सर्लाहीको अन्नपूर्ण सुगर मिलको ३० करोड रूपैयाँ, महालक्ष्मी सुगर मिलको ६ करोड रूपैयाँ, नवलपरासीको लुम्बिनी चिनी मिलको १० करोड रूपैयाँ, इन्दिरा सुगर मिल नवलपरासीको आठ करोड र बागमती खाँडसरी चिनी मिलको ४० लाख रूपैयाँ बक्यौता छ। महालक्ष्मी मिलले करिब ६ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको किसानले बताए पनि उद्योगले भने बैंक खाता नभएका किसानको करिब २० लाख रूपैयाँ मात्र बाँकी रहेको दाबी गर्दै आएको छ। महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया नेपाली कांग्रसका नेता हुन्। लुम्बिनी चिनी उद्योगका सञ्चालक राकेशकुमार गोयल हुन्। त्यसैगरी इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाल हुन्।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा हुन्। आन्दोलरत किसानका प्रतिनिधि उपस्थित नभएपछि सरकारले चिनी उद्योगीसँग मात्र छलफल गर्‍यो। छलफलमा इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल, श्रीराम सुगर मिलका प्रतिनिधि उपस्थित थिए।उद्योगमन्त्री भट्टले किसानको बक्यौता रकम तिर्न आग्रह गरेपछि उद्योगीले जग्गा बेचेर तिर्ने बताएका थिए। किसानले करिब ९० करोड रूपैयाँ बक्यौता रहेको दाबी गरे पनि उद्योग मन्त्रालयमा उद्योगीले बुझाएको विवरणमा ६५ करोड ३१ लाख रूपैयाँ बक्यौता रहेको देखिन्छ। छलफलपछि किसानलाई बुझाउनुपर्ने रकम उद्योगहरूले सार्वजनिक गर्ने सहमति भएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन्।  

‘किसान वार्तामा नआएपछि उद्योगीसँग मन्त्रीज्यूकै रोबहरमा छलफल गर्‍यौं,’ उनले भनिन्, ‘भुक्तानी गर्ने रकमको विषयमा पनि अन्योल भएपछि उद्योगले विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएक।ा छन्।’ मन्त्रीले छिटो रकम भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेको छलफलमा सहभागी केसीले जानकारी दिइन्। एकरदुई दिन भित्रमा भुक्तानी नदिए प्रक्राउ गरेर कडा कदम चाल्ने मन्त्रालयले जनाएको छ।

जग्गा बेचेर बक्यौता तिर्छौं : उद्योगी

वर्षौंदेखि उखु किसानको रकम भुक्तानी गर्न आलटाल गर्दै आएका चिनी उद्योगीले उद्योगको जग्गा बिक्री गरेर भए पनि तिर्ने वाचा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टसमक्ष गरेका छन्। इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवालले पनि चिनी मिल।। बेचेर बक्यौता भुक्तानी गर्ने बताए। ‘किसान पनि समस्यामा छन्,’ अग्रवालले भने, ‘हामीले पनि उद्योग चलाउन सकेनौं। अब जग्गा बेचेर भुक्तानी दिन्छौं।’

उद्योग बिक्री प्रक्रिया अघि बढाएको अग्रवालले बताए।‘दुई अर्ब रूपैयाँ लगानी गरेर उद्योग चलाएँ,’ उनले भने, ‘भुक्तानी दिन नसकेपछि किसानको गाली खाएको छु।’ किसान अगुवाका अनुसार अग्रवालका कम्पनीले करिब ४३ करोड रूपैयाँ तिर्न छ। तर अग्रवालले आफूले करिब १८ करोड रूपैयाँ मात्र तिर्न बाँकी रहेको बताए। ३५ करोड रूपैयाँ बक्यौता रहेको श्रीराम सुगर मिल बन्द भैसकेको छ। श्रीरामले जग्गा बिक्री प्रक्रिया अघि बढाएकाले रकम आएपछि भुक्तानी दिने बताउँदै आएको छ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६