काठमाण्डौ १३ फागुन । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकाय यूएस फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले जनाएको छ ।एफडीएले जोन्सन एण्ड जोन्सनको खोपको प्रयोगका लागि केही दिनमै स्वीकृति दिने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
योसँगै अमेरिकामा कोरोना भाइरसविरुद्धका तीन खोपले स्वीकृति पाउने छन् । यो खोपले अनुमति पाए सस्तो र सजिलो खोपका लागि सजिलो विकल्प हुने खबरमा उल्लेख छ ।यो खोप रेफ्रिजेरेटरमा पनि राख्न सकिने भएकाले भण्डारणमा सहज हुने भनिएको हो । यस्तै, यो खोपको मात्रा एक डोज दिएमात्रै पनि पुग्ने छ ।
अहिले प्रयोगमा आएको मोर्डना र फाइजरको खोपको मात्रा दुई डोज दिने गरिएको छ । जोन्सन एण्ड जोन्सनले गएको महिना आफ्नो परीक्षणको नतिजा सार्वजनिक गरेको थियो ।यसको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको थियो । परीक्षणमा गम्भीर बिरामी हुनबाट रोक्न यो खोपको ८५ प्रतिशत प्रभावकारिता पाइएको थियो भने समग्रमा खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको थियो ।भोलि विशेषज्ञ टोलीले यो खोपलाई मान्यता दिने नदिनेबारे निर्णय गर्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया