बुटवल ३१ बैशाख । प्राण वायू अक्सिजन अभावले अस्पतालमै बिरामीको उपचार रोकिएपछि रुपन्देहीमा विभिन्न स्थानबाट आपतकालीन अक्सिजन जुटाउन थालिएको छ । बिहीबार चितवनबाट १ सय ५० थान भरी अक्सिजन सिलिन्डर ल्याइएको छ । ती सबै सिलिन्डर भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
यता नयाँ वर्षको सुरुवातसँगै रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढ्दो अवस्थामा छ । आइतबार देखि संक्रमितको ग्राफ केही तल गएपनि बुधबार एक्कासी ग्राफ अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो । संक्रमित मात्र होइन मृत्युदरको संख्या पनि सबै भन्दा बढि विन्दुमा पुगेको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार पछिल्लो समय कोभिड–१९ संक्रमितसँगै मृतकको संख्या पनि अस्वभाविक रुपमा बढेको छ । यस्तै जिल्लामा संक्रमितसँगै सक्रिय संख्या पनि अस्वभाविक रुपमा बढेकै छ ।
जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणबाट अस्पतालमा मात्रै एक महिनामा एक सय ८८ जनाको मृत्यु भएको छ । जिल्ला भरि एक महिना अवधिमा कुल ९४३ जना संक्रमितको अस्पतालमा उपचार भएकोमा ४०७ जना निको भएका छन भने १८८ जनाको मृत्यु भएको छ । यो तथ्याङक अस्पतालमा गएका संक्रमितहरुको मात्र हो होम आइशोलेशनमा पनि मृत्यु भएकाको तथ्याङक समावेश गरिएको छैन ।
प्रतिक्रिया