प्रदेश

नवौं महाधिवेशनबाट निर्वाचित कमिटी सशर्त ब्युँताउन ओली तयार



काठमाडौं, १९ जेठ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी सशर्त ब्युँताउन तयार भएका छन् ।

माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् ।

नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ । सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो ।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए । राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ । नागरिक दैनिकबाट

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६