कपिलवस्तु २० जेठ । सिद्धार्थ क्याम्पस बाणगंगामा नयाँ शिक्षण भवनको शिलान्यास भएको छ । आज बिहीबार एक संक्षिप्त समारोहका बीच राष्ट्रिय सभा सदस्य एवं क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरेले ९ कोठे नयाँ भवनको शिलान्यास गर्नभएको हो । क्याम्पसमा विद्यार्थीको चाप बढेसंगै कक्षाकोठाको अभाव हुन थालेपछि नयाँ भवन बनाउन लागिएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो ।
बाणगंगा नगरपालिकाको आर्थिक सहयोग र जनश्रम दानबाट भवन निर्माण कार्यलाई अघि बढाइएको क्याम्पस प्रमुख शर्माले बताउनुभयो । कोरोनाको महामारीको कारण न्यून उपस्थितीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै कार्यक्रम सम्पन्न गरिएको बताईएको छ । कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेल, उपाध्यक्ष रविबहादुर काफ्ले, सदस्य सुमित्रा घिमिरे लगाएत क्याम्पसका प्राध्यापक, कर्मचारी र स्ववियु पदाधिकारीको उपस्थिति रहेको थियो ।
यता कपिलवस्तुको शिवराज नगरपालिकामा निर्माण हुने १५ शैयाको अस्पताल निर्माणको लागि जग्गादाताहरु बढिरहेका छन् । केहि दिन अघि शिवराज नगरपालिका वडा २ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका ५ कुदरवेटवामा ईश्वरी पाण्डेले जग्गा प्रदान गर्ने भन्दै नगरपालिकामा प्रतिबद्धता पत्र बुझाउनुभएको थियो ।नगरको वैठकले चन्द्रौटा क्षेत्रमा जग्गा प्राप्त भएमा छलफल गरि टुगाउने यदि नभएमा शिवराज २ मा अस्पताल गर्ने निर्माण गर्ने जनाएको थियो ।
बुधवार शिवराज नगरपालिका ५ चन्द्रौटामा १० जनाले प्रतिव्यक्ति एक कठ्ठाका दरले १० कठ्ठा अस्पताल निर्माण गर्न जग्गा दिने भन्दै नगरपालिकामा पुग्नुभउको थियो । शिवराज नगरपालिकाको हालको कार्यालय देखि झण्डै ६ सय मिटर दक्षिण पर्सिया क्षेत्रमा उहाँहरुले जग्गा दिन ईच्छुक रहनुभएको छ ।अस्पताल निर्माणको लागि तीन स्थानमा जग्गा दिन जग्गादाता ईच्छुक रहेको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले बताउनुभयो । कुन स्थान छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको अर्यालले बताउनुभयो । नागरिकहरुलाई पायक पर्ने तरिकाले स्थान छनोट हुने उहाँले बताउनुभयो ।
प्रतिक्रिया