बुटवल १ असार । मुख्यमन्त्री समेत रहेका अर्थमन्त्रीवाट लगातार ३ वर्ष प्रस्तुत हुदै आएको वजेट यसपाली केवल अर्थमन्त्रीको भूमिकामा रहेका मन्त्री बैजनाथ चौधरीवाट पेश हुदैछ । आइतबार नीति कार्यक्रम पास गरेको लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट ल्याउदैछ । मंगलबार तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य प्रस्तुत गर्नेछन् । यो वजेट विगतका भन्दा ४ कारणले भिन्न हुनेछ ।
पहिलो मुख्यमन्त्री र अर्थमन्त्री यस पटक फरक हुनेछ्न । दोश्रो वर्तमान सरकार ठूलो दल एमालेको बनेकोमा जसपाका ४ सांसदको समर्थन रहेकाले यो विगतको भन्दा फरक सरकार हो । तेश्रो कोभिड र कृषि पहिलो प्राथमिकतामा परेको छ । चौथो कारण यो वजेट नयाँ राजधानी शहर वसाउन केन्द्रित हुने वताइएको छ । प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए । आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर गौतमले बताए । उनले ३८ अर्वमा केही थपघट हुनसक्ने गरी बजेट आउन सक्ने संकेत गरे ।
चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो । रोजगार सिर्जना लक्षित कृषि कार्यक्रम र सञ्चालनमा रहेका परियोजनाहरुलाई पूर्णता दिने गरि बजेट आउने उनको भनाई थियो । डा गौतमले बजेटमा अघिल्ला बर्षहरुमा जस्तो नयाँ ठूला आयोजनाहरु समावेश नगरिएको पनि जानकारी दिए । सरकारले चालु आर्थिक बर्षको बजेट पनि स्वास्थ्य, कृषिलाई नै प्राथमिकतामा राखेर ल्याएको थियो ।
प्रतिक्रिया