अर्थ-वाणिज्य

एक शिक्षक एक ल्यापटप र पुषभित्र भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र पूर्जाको नीति



सैनामैना ६ असार। सैनामैना नगरपालिकाको नवौँ नगर सभाले आर्थिक वर्ष २०७८/ ७९ को नीति तथा कार्यक्रम सावर्जनिक गरेको छ । एक शिक्षक एक ल्यापटप र  पुष महिनाभित्र  भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र पूर्जाको  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले कोरोना महामारीको दोस्रो लहर विरुद्धको लडाँईलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा सरसफाई, शिक्षा, युवा तथा खेलकूद र कृषिलाई प्राथमिकता दिएर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।शनिबारदेखि सुरु भएको नवौँ नगर सभाको पहिलो बैठकमा चालु आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिकगरिएको हो   नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले महामारी विरुद्धको लडाँईलाई उच्च प्राथमिकतामा राखि कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकारणको लागि आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै विकास निर्माणका कार्यहरु भइरहेको बताए । उनले अनुमानित राजश्व संकलनमा भारी मात्रामा गिरावट आएको बताउँदै महामारी र बन्दाबन्दीका कारण चालू आर्थिक वर्षमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको उल्लेख गरे । 

नगरमा संक्रमितको पहिचान, अक्सिजन सहितको आइसोलेसन सञ्चालन भईरहेको र संक्रमणको दर घट्दै गएको हुँदा आगामी आर्थिक वर्षमा केही सहज हुने कार्कीको भनाई छ । यद्यपि, जोखिम न्यूनिकरण गर्दै आर्थिक, सामाजिक, पूर्वाधार विकास गर्ने र सेवा प्रवाह गर्ने कार्य चुनौति रहेको समेत धारणा व्यक्त गरे ।

स्वास्थ्य :सबैलाई खोप तथा सरसफाई 

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनःसंरचना गरिने उल्लेख छ । त्यस्तै कोरोना भाईरसविरुद्धको खोप समुदायस्तरमा लगाउने अभियान सुरु भईसकेकाले आगामी आर्थिक वर्षमा सबै नगरवासीहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाइने भएको छ ।महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आइसोलेसन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने नीतिमा उल्लेख छ । त्यस्तै कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईनेछ । पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैया क्षमताको आधारभुत अस्पताल बनाउने निर्माण कार्य सुरुवात भईसकेको हुँदा तिव्रताका साथ निर्माण कार्य सम्पन्न गरिने कार्यक्रममा उल्लेख छ ।  

सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ, भने स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइनेछ । सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्नुका साथै नगरमा गर्भवती तथा सुत्केरी, जेष्ठ नागरिकका लागि सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिने नीतिमा प्रस्तुत छ । कार्यक्रममा “एक घर एक धारा” कार्यक्रम सञ्चालन गरिनुका साथै सबै नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय र लुम्बिनी प्रदेश सरकारको लगानीमा पाईपलाईन विस्तार, ओभरहेड ट्याङकी निर्माणको कार्य अगाडि बढाइने उल्लेख छ । त्यसैगरी लुम्बिनी प्रदेश सरकारको लगानीमा वडा नं ९ मा निर्माणाधीन अत्याधुनिक यात्रु प्रतिक्षालय सहितको रिफ्रेस सेन्टरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याईने भएको छ ।

नगरमा फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वडा नं. १०, एक्लापहाडमा बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाको सहकार्यमा अन्तर स्थानीय तह संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति लिई जग्गा भोगाधिकार लिने प्रक्रिया अघि बढाइएको हुँदा आर्थिक वर्ष २०७८÷७९ मा पुर्वाधार निर्माणको कार्य सुरुवात गरिने छ ।

शिक्षा, युवा तथा खेलकुद

̎प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता ̎ भन्ने नारालाई साकार पार्न विद्यालयलाई सूचना प्रविधियुक्त वनाउने कार्यलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी वनाउन लागत साझेदारिमा एक शिक्षक एक ल्यापटप कार्यक्रम संचालन गरिने छ । त्यसैगरी उत्कृष्ट विद्यालय र शिक्षकहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमशः लागु गरिने पनि नीतिमा उल्लेख छ । कार्यक्रममा नगर भित्र संचालन हुने सबै किसिमका खेलहरुलाई नगरस्तरीय खेलकूद समिति मार्फत एकद्वार प्रणालीवाट सञ्चालन गरिनेछ,भनेनगरस्तरीय खेल सप्ताह लाई पनि निरन्तरता दिइएकोछ । 

संघिय आयोजनाको रुपमा रहेका निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान र मुर्गियास्थित फुटबल रङ्गशाला निर्माणको लागि पर्याप्त श्रोतको सुनिश्चितता गर्न संघिय सरकारसंग पहल गर्नुका साथै समयमै निर्माण कार्य सम्पन्न गर्न सहजिकरण गरिने भएको छ ।

कृषि र पर्यटनबाट आर्थिक विकास  

नीति तथा कार्यक्रममा भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरी सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्न प्रोत्साहन गरिने उल्लेख छ । त्यसैगरी कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्ने नीति लिईएको छ । कोभिड १९ पूनःउत्थान सामाजिक तथा आर्थिक प्रतिकार्य परियोजनालाई निरन्तरता दिईने कार्यक्रममा उल्लेख छ । 

कृषक तथा पशुपालक किसानलाई अपनत्व बोध गराउन नगरपालिकाबाट प्रदान गरिने  अनुदानमा ५० प्रतिशत लागत सहभागिता गराउने नीति अवलम्बन गरिनुका साथै कृषका लागि आवश्यक पर्ने तालिमहरुलाई निरन्तरता दिइने नीतिमा प्रस्तुत गरिएको छ । त्यसैगरी नीतिमा कृषियोग्य जमिनको चक्लावन्दी गरी व्यवस्थित गर्न गैरकानुनी खण्डिकरणलाई नियन्त्रण गर्ने नीतिगत व्यवस्था गरिनेछ । मुर्गियामा निर्माणाधिन शीत भण्डारको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउनुका साथै कृषकहरुले उत्पादन गरेको बिउ भण्डार गर्ने प्रबन्धमिलाउन बासँगढीमा बिउ भण्डार केन्द्र स्थापना गरिने नीतिमा उल्लेख छ । विष्टिकृत सहकारी संस्था मार्फत दुग्ध प्रशोधन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याईने भएको छ । 

त्यसैगरी नीति तथा कार्यक्रममा २०७८ कार्तिक महिनाभित्र नगरपालिका भित्रमा सबै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासयुक्त जग्गाको नापि गर्ने, नक्सा श्रेस्ता तयार गर्ने कार्य समाप्त गरि पुष महिनाभित्र सबै सैनामैना नगरवासी भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र पूर्जा वितरण गरिने उल्लेख छ ।  

वडा नं ४ मा संघीय सरकारको सहयोगमा सीप विकास प्रतिष्ठानको निर्माण कार्य आरम्भ गरिनेछ, भने सैनामैना ३ को पूर्वी र पश्चिम गंगानगरमा पक्की घर निर्माण गर्दा जग्गाधनी पूर्जा भएको र नभएको दुवै प्रकृतिको जग्गामा भविष्यमा होमस्टेको रुपमा प्रयोग गर्न सकिने गरी नगरपालिकाबाट स्विकृत नक्शा बमोजिम आवाश निर्माण गर्नुपर्ने नीति लिईएको छ ।

नगरमा हालसम्म पनि बिद्युत लाइन जडान नभएका स्थानहरुको पहिचान गरी ती स्थानहरुमा विद्युत लाइन जडानको व्यवस्था गरिनेछ । बिद्युत क्षेत्रको समग्र समस्याहरुलाई एकीकृत रुपमा समाधान गर्ने गरी विद्युत प्राधिकरण नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलको सहकार्यमा सैनामैना वडा नं. ९ मा शुरु गरिएको बिद्युत सब–स्टेशनको ८० प्रतिशत पूर्वाधार निर्माणको कार्य आ.व २०७८/७९ भित्र सम्पन्न गरिने कार्यक्रममा प्रस्तुत गरिएको छ । आगामाी आर्थिक वर्ष भित्र भित्र सबै वडा कार्यालयको प्रशासनिक भवन पनि निर्माण गरिने भएको छ । 

नीति तथा कार्यक्रममा सामाजिक न्याय र समताका  लागि सकरात्मक विभेदको नीति अनुरुप हाल सञ्चालन गरिदै आएको क्षमता विकास तथा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिदै विधवा तथा एकल महिला, द्वन्द्वपीडित तथा हिंसापीडित महिला, बेरोजगार तथा अति पिछडिएका व्याक्ति र बिपन्न समुदायको लागि रोजगारमूलक तालिमलाई निरन्तरता दिदै थप प्रभावकारी बनाइने उल्लेखछ 

ʺमहिलासँग उपप्रमुखˮ कार्यक्रम 

नगरमा सञ्चालित अपांग र बालवालिका लक्षित कार्यक्रमहरु , ʺमहिलासँग उपप्रमुखˮ कार्यक्रम , ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्रता दिइएको छ । प्रदेश सरकारसँगको सहकार्यमा निर्माणाधिन वडा नं. १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम र अपाङ्ग संरक्षण ग्रामलाई बहुवर्षिय आयोजनाको रुपमा निर्माण कार्य सञ्चालन गरिने भएको छ । त्यस्तै नगरको नीति तथा कार्यक्रममा कोरोना भाईरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएकोले पर्यटन व्यवसायको पुनःउत्थान गर्नको निम्ती नगरपालिकाबाट आवश्यक नीतिगत सहयोग गरिने उल्लेख छ । 

पर्रोहा परमेश्वर बोलबमधाम मन्दिरको निर्माण कार्य समपन्न गरि मन्दिरलाई हिन्दु धर्मावलम्विको प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गरिनेछ । त्यसैगरी  वडा.नं. ८ मा लुम्बिनी सांस्कृतिक शहर निर्माणको लागि प्रारम्भिक अध्ययन भएकोले यसको लागि जग्गा एकिकृत गर्ने सहितको परियोजना नगर विकास कोषको साझेदारीमा अगाडि बढाईने भएको छ । पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसार गर्न सैनामैना नगरपालिका वडा नं. २ मा निर्मित थारु होमस्टेको सभाहल र पाहुना घर औपचारिक रुपमा सञ्चालनमा ल्याइनेछ ।

यस नगरमा आदिवासीको रुपमा बसोबास गर्दै आएका थारु समुदायको संस्कृतिको संरक्षण र संवर्धन गर्न वडा नं ५ को कोटियाथानमा थारु संग्राहलय निर्माण कार्य पनि आरम्भ गरिने भएको छ । कोभिड–१९ को महामारी रोकथाम भएमा उद्योग बाणिज्य संघ तथा व्यापार संघबाट प्रत्येक वर्ष हुदै आएका कृषि तथा पर्यटन महोत्सव, भड्छा महोत्सव, आदिवासी जनजाती महोत्सव र माघी मेलाको संचालनलाई निरन्तरता दिइनेछ ।

बहुवर्षिय आयोजनामा पहल   

नगरमा बहुवर्षिय आयोजनाहरु तोकिएको समयावधि भित्रै सम्पन्न गर्ने गरि स्रोत सुनिश्चित गरिने नीतिमा उल्लेख छ ।  “नगरको समृद्धिको आधार, फराकिलो र व्यवस्थित सडक पूर्वाधार” भन्ने नारालाई आत्मसाथ गरी सडक निर्माण तथा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।  सडक आयोजनाका कार्यलाई निरन्तरता आ.व २०७८÷७९ भित्र सैनामैना चक्रपथ पूर्ण रुपमा निर्माण गरि सञ्चालनमा ल्याईने भएको छ । वडा नं. ३ मा शैलपुत्रि पार्क  निर्माणको डि.पि.आर. तयार भएकोले यसलाई संघीय आयोजनामा समावेश गरि निर्माण गर्न पहल गरिने भएको छ ।नेपाल सरकार र लुम्बिनी प्रदेशको सहलगानीमा वडा नं. ३ मा अवस्थित लामीरहको बहुउद्देश्यीय बाधको पहिलो चौमासिक भित्र बहुवर्षिय ठेक्का व्यवस्थापन गराई निर्माण कार्य सुरुवात गरिने नीतिमा छ ।

त्यस्तै नीति तथा कार्यक्रममा कोरोना भाईरस महामारीको कारण निशेधाज्ञा अवधिभर सञ्चालन हुन नसकेका व्यवसायहरुलाई राहत स्वरुप निशेधाज्ञा अवधिभरको घर बहाल कर र व्यवसाय करमा छुट तथा सहुलियत दिने नीति अवलम्बन गरिएको छ । करको दर कम र दायरा फराकिलो बनाईने नीतिमा प्रस्तुत गरिएको छ । 

कानून तर्जुमा  सुशासन र  सेवा प्रवाह 

स्थानीय सरकारको काम कारवाहीलाई प्रभावकारी वनाउँदै निर्माण गरिएका ऐन कानूनहरुलाई कार्यान्वयनमा ल्याइ विषयगत क्षेत्रका अत्यावश्यक कानून तर्जुमा गर्ने कार्यलाई निरन्तरता दिइन नीतिमा प्रस्तुत छ । त्यस्तै सञ्चारकर्मीलाई प्रोत्साहन गर्नुका साथै उत्कृष्ट सञ्चाकर्मीलाई सम्मान गरिनेछ, भने कर्मचारीलाई कामप्रति उत्प्रेरित गर्न प्रोत्साहन सुविधा उपलव्ध गराइनेछ । 

संघीय सरकारको मालपोत तथा नापी कार्यालय स्थानीय तहलाई हस्तान्तरण गर्ने नीति अनुरुप मालपोत तथा नापी कार्यालय नगरपालिकाको मातहतमा ल्याई गुणस्तरिय सेवा प्रवाह गरिने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।  

साङ्केतिक भाषाको  प्रयोग 

सैनामैना नगरपालिका वडा नंं. २ स्थित बाबरी पार्टी प्यालेसमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नगर उपप्रमुख बिना राना, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, ११ वटा वडा जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, संघ संस्था, व्यापार संघ, उद्योग संघ, बुद्धिजीवि, नगरका कर्मचारी लगायतको सहभागिता थियो । नीति कार्यक्रम प्रस्तुत गर्दा साङ्केतिक भाषाको समेत प्रयोग गरिएको थियो । नगर सभाको अर्को वैठक आइतबार बस्ने छ । 

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६