कपिलवस्तु ६ असार ।जिल्लाको बुद्धभूमी नगरपालिकाको आर्थिक बर्ष २०७८÷८९ को नीति तथा कार्यकम सर्वसम्मतबाट पारित भएको छ । आइतबार गोरुसिगेमा आयोजित नवौं नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर स्तरिय सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना बनाएको छ । उपचारको लागि नगरपालिका भित्र सुविधा सम्पन्न सरकारी तथा निजि अस्पताल नभएको कारण नगर भित्र पालिका स्तरिय अस्पताल निर्माण गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै विभिन्न निकाय सम्म सहकार्य गरि १ मेगावाट सम्मको सोलार प्लाण्ट उत्पादन समेत गर्ने योजना पारित गरेको छ । सभामा नीति पेश गर्दै नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रमा प्रत्यक वडा वाट विपन्न तथा पछाडी पारिएका छात्राहरुलाई उच्च शिक्षाको लागि ३ वर्ष सम्म निशुल्क अध्धयन गर्ने व्यवस्था गरेको बताए । नगर प्रमुख र उप प्रमुखले मा वि तहमा अध्ययन गर्ने विद्र्याीहरुको लागि करियर काउन्सेलिग कार्यक्रम समेत संचालन गर्ने भएको छ ।
त्यस्तै स्नातक अध्ययन गर्ने फरक क्षमता भएका विद्यार्थीलाई ४० प्रतिशत ल्यापटप खरिदको लागि अनुदान दिने व्यवस्था पनि मिलाएको छ । उता नगरपालिकाल सुविधा सम्पन्न तथा सूचना मैत्री वडा कार्यालय, कृषिमा पकेट विकास कार्यक्रम जस्ता योजना समेत समावेश गरिएको छ । त्यस्तै समयमै काम सम्पन्न गर्ने वडालाई थप १० लाखको योजना समेत दिने योजना रहेको छ । विपद् व्यवस्थापनको लागि वडा स्तरिय विपद् कर्नर समेत स्थापना र व्यवस्थान र संचालन गर्ने भएको छ । सभामा वोल्दै नगर प्रमुख श्रेष्ठले बनाइएका नीति अनुसार कार्य सम्पन्न र कार्यान्वयनमा सबै कर्मचारी , जनप्रतिनिधि तथा समुदायलाई आग्रह समेत गरेका छन् ।
सो अवसरमा नगर उप प्रमुख मिरा थारुले पेश गरेको बुद्धभूमीका विनियोजित ऐन २०७८,आर्थिक ऐन २०७८ र नगरपालिकाको दररेट समेत पारित भएको छ । साथै सभामा बार्षक रुपमा सम्पन्न योजनाहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले प्रतिवेदन पेश गरेका थिए । चालु आर्थिक बर्ष नगरपालिकाले कोरोनाबाट मृत्यु भएका ६ जनाका परिवारलाई जनही २० हजारका दरले रकम उपलब्ध गराएको छ । यस बर्ष नगरपालिकाले १ अर्ब १८ करोड २० लाख ११ हजार बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
प्रतिक्रिया