रुपन्देही १५ असार । लुम्विनी र गण्डकीका ५ जिल्लालाई हिमालसम्म पहुँच पुराउन सक्ने विकल्पका रुपमा निर्माणाधिन सालझण्डी ढोरपाटन सडक देखा परेको छ । निर्माणाधिन सालझण्डी सन्धिखर्क ढोरपाटन सडक तयार भएमा उत्तर दक्षिण मार्गको विकल्प मात्र होइन ५ जिल्लाको लागि यातायातमा सहजता समेत ल्याउँछ। सडक निर्माण सकिएपछि केही वर्षमा रुपन्देहीबाट अर्घाखाँची, गुल्मी बाग्लुङ सहित मुक्तिनाथ जानको लागि पनि दुरी छोटो र सहज हुने छ। कुल १ सय ८५ किलोमिटर लम्बाइको सडक मध्ये रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट गोरुसिंहे हुँदै बुटवल आउन १ सय १३ किलोमिटर जति पर्दछ। यो सडक बनेपछि २५ किलोमिटर जति दुरी घट्ने छ। सडक कालोपत्रे भएमा तराइसँगको पहुँच निकै सहज हुने तथा विचका बस्तीहरुको विकास हुने सन्धीखर्क नगरपालिकाका प्रवक्ता लिलाराम गौतम बताउँछन्।अहिले लुम्बिनी प्रदेशबाट उत्तर तर्फ पहाडी र हिमाली जिल्ला तर्फ जान प¥यो भने मुख्य गरि सिद्धार्थ राजमार्ग भएर जानु पर्दछ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी उत्तर दक्षिण सडकको रुपमा सिद्धार्थ राजमार्ग छ । अबको केही वर्षमा दुई प्रदेश जोड्ने गरी उत्तर दक्षिण सडकको रुपमा सिद्धार्थ राजमार्ग मात्र रहने छैन। रुपन्देही पश्चिमबाट पनि अर्को मुख्य सडकबाट पहाडी जिल्ला हुँदै हिमाली भेग तर्फ जान सकिन्छ। सडक निर्माण भएपछि गाउँघरमा उत्पादित तरकारी, दुधले बजार पाउने विश्वास छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै बाग्लुङको ढोरपाटनसम्म पुग्ने गरी सडक निर्माणको काम भइरहेको छ । समयमा बजेट आएमा प्याकेज प्याकेजमा ठेक्का दिन पाएमा अबको तीन चार बर्षमै सडक निर्माण सकिने गौतमको भनाइ छ। दुई लेनको उक्त सडकको ७ मिटर चौडाइ भाग कालोपत्रे हुने छ।
प्रतिक्रिया