अर्थ-वाणिज्य

अविरल वर्षाका कारण भएको डुवानको स्थलगत निरिक्षण : बिपदको राहत एकद्वारवाट वितरण गर्ने निर्णय



कपिलवस्तु १३ भदौ ।  विहिबार राती परेको अविरल वर्षाका कारण वाणगंगा नगरपालिकाको अधिकांश भुभाग डुवानमा परेपछि प्रभावित क्षेत्रको नगरपालिकाले स्थलगत निरिक्षण गरेको छ । नगरपालिकाको अनगुमन टोलीले डुवानका कारण बढि प्रभावित भएका क्षेत्रहरुको स्थलगत निरिक्षण गरेको हो । डुवानका कारण बढि समस्यामा परेका नगरका विभिन्न वडाका बजारक्षेत्र र गाउबस्तीको स्थलगत निरिक्षण गरिएको नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो ।

डुवानका कारण सिर्जित समस्या, प्रारम्भिक क्षति र त्यसको प्रभावका बारेमा धेरै प्रभावित क्षेत्रहरु पिपरा, ओदारी, कोपवा, मधौली, मटेरिया लगाएतका क्षेत्रहरुको निरिक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो । अनुगमन पश्चात् डुवानका कारण सिर्जित समस्या समाधानका लागि नगरपालिकाले तत्काल योजना निर्माण समेत गरेको छ । स्थलगत निरिक्षणमा नगरप्रमुख मंगल प्रसाद थारु, प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनाल, नगरप्रवक्ता विष्णु प्रसाद पौडेल, वडा अध्यक्ष भिष्मराज भुसाल, सोमनाथ अर्याल लगाएतको सहभागीता रहेको थियो ।

डुवानका कारण विभिन्न वडाका बजार र गाउँवस्ती समस्यामा परेपछि सूचनाहरु संकलन र अनुगमनलाई निरन्तरता दिइएको नगर उपप्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयोे । यता विहिबार राती परेको अविरल वर्षाका कारण नगरक्षेत्र डुबानमा परेपछि वाणगंगा नगरपालिकाले आवश्यक कदम चालेको छ । शनिबार नगर स्तरीय विपद् व्यवस्थापन समितिको वैठक आयोजना गरी विभिन्न निर्णय गरेको हो । नगरपालिका भित्र डुवानका कारण मानवीय तथा करोडौंको भौतिक क्षति भएको जनाइएको छ । प्रारम्भिक चरणमा नगरमा २ हजार घरपरिवार प्रभावित भएका छन् । कतिपयको घर गोठ भत्किएका छन् भने अन्नबाली, लत्ता कपडा, पशु चौपाया र सामानहरु नष्ट भएको छ ।

प्रारम्भिक चरणमा कुनै मानवीय क्षति नभएको बताइएपनि डुवानका कारण कोपवा ५ सिमलखोर गाँउमा २ वर्षको बालिकाको डुवेर मृत्यु भएको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठकले उक्त घटना प्रति दुख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको छ ।वैठकले डुवानका कारण क्षति पुगेका घरपरिवारका लागि तत्काल उद्धार, राहत र पुनस्र्थापना जस्ता सहयोग गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

उहाँले डुवानका कारण घरवार विहिन भई अन्यत्र आश्रय लिई बसेकालाई तत्काल खाद्यान्नको व्यवस्था मिलाउने, क्षतिको एकिन विवरण संकलन गर्ने तथा पीडित परिवारलाई राहत वितरणका लागि एकद्धार प्रणालीबाट वितरण हुने जानकारी दिनुभयो । अधिकृत खनालले पीडित परिवारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुले नगरपालिका संग समन्वय गरेर मात्र राहत वितरण गर्नुपर्ने बताउनुभयो । साथै अहिले सिर्जित समस्या समाधानको लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषलाई बृद्धि गरिने समेत बताइएको छ ।

तत्काल छाक टार्न समस्या भएका घर परिवारलाई वडा अध्यक्षहरुले आवश्यक समन्वय गरी राहत वितरण गर्ने निर्णय भएको छ । नगरका ११ वटै वडा अध्यक्षहरुले प्रारम्भिक क्षतिको विवरण, पीडितहरुको अवस्था, वडाबाट भएका राहत सहयोगका प्रयासहरु बारे वैठकमा जानकारी गराएका थिए । वैठकमा राजनीतिक दल, नागरिक समाज, कपिलवस्तु उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय पिपरा, नेपाल रेडक्रस सोसाइटी वाणगंगा, पत्रकार लगाएतले विवाद रहित तरिकाले राहत तथा सहयोगका कार्यक्रम ल्याउनृुपर्ने, ढल निकास, नदी कटान लगाएतका समस्याको पहिचान गरी तत्कालिन र दीर्घकालिन योजना निर्माण गर्नुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६