बुटवल ६ पुस । सिरिन्ज अभावले लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ । संघीय सरकारले सिरिन्ज नपठाएको भन्दै अहिले प्रदेश सरकारको व्यवस्थापनमा ३० प्रतिशत केन्द्रमा मात्रै खोप लगाइएको छ । प्रदेशमा मोडर्ना र फाइजर खोप लागउन सिरिन्ज अभाव भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले पटक–पटक संघीय सरकारलाई सिरिन्ज पठाइदिन भनिए पनि नआएको बताए ।तथ्यांकअनुसार प्रदेशमा अझै ३ लाख ७३ हजार ५ सय २५ मात्रा खोप भण्डारणमा छ । प्रदेशका १२ जिल्लामा ९ सय खोप केन्द्र छन् । सिरिन्ज अभाव भएपछि हाल २ सय ४५ केन्द्रमा मात्रै खोप अभियान चलेको छ ।
मोडर्ना र फाइजर खोप केन्द्रमा खोप लगाइएको छैन । खोप अभियानको जिम्मा प्रदेश सरकारलाई भए पनि खोप र सिरिन्ज व्यवस्थापनको जिम्मा संघीय सरकारलाई छ । संघीय सरकारबाटै व्यवस्थापन हुने भनेकाले अभाव भए पनि प्रदेशबाट किन्ने पहल नथालिएको भण्डारीले बताए । प्रदेशका अधिकांश स्थानीय तहमा पहिलो र दोस्रो चरणको खोप अभियानमा छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । जसमा भेरोसेल, अस्ट्राजेनेका र जोनसन खोप लगाइएको छ । भेरोसेल ९२ वटा, अस्ट्राजेनेका ७७ वटा र जोनसन ७६ वटा खोप केन्द्रमा लगाइएको छ । प्रदेशमा १८ वर्षमाथिका ५७ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् । संख्याका हिसाबले १९ लाख ४४ हजार ५ सय ९६ हो । कभरेजका हिसाबले सबैभन्दा बढी पाल्पामा ८० र रूपन्देहीमा ७९ प्रतिशतले खोपका दुवै मात्रा लगाएका छन् । सबैभन्दा थोरै प्यूठानमा ३८ प्रतिशत नागरिकले मात्रै खोप लगाउन पाएका छन् । प्रदेशमा १८ वर्षमाथिको संख्या ३३ लाख ८७ हजार १ सय २८ छ ।
प्रतिक्रिया