जीवनशैली

भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद , माछा देखे भित्र हात, सर्प देखे बाहिर हात : डा.भट्टराई



काठमाडौं २४ माघ –भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’, प्रचण्डको चरित्रलाई सङ्केत गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेको टिप्पणी हो यो ।

प्रचण्डको असली चरित्र एउटै थालमा खाएर र एउटै ओछ्याउनमा सुतेर वर्षाैँसम्म सहयात्रा गरेका बाबुरामलाई जति अरू कसलाई पो थाहा होला र ! पछिल्लो पटक एमसीसी प्रकरणमा देखाएको द्वैध चरित्र सार्वजनिक भएपछि त प्रचण्डको भनाइ र गराइमा कतिसम्म फरक छ भन्ने कुरा भट्टराईबाहेक अरूलाई पनि घामजत्तिकै छर्लङ्ग भइसकेको छ ।

त्यसो त प्रचण्डको असली चरित्र देखाउने यो पछिल्लो प्रमाण मात्रै हो । शक्तिखोरको भिडियो सार्वजनिक भएपछि उनको दाहोरो चरित्र र विश्वसनीयता स्खलन हुन थालेको थियो । योभन्दा अघिका थुप्रै अभिव्यक्ति र व्यवहारले पार्टीभित्र र बाहिरसमेत प्रचण्डप्रतिको विश्वास घट्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि कुशल रणनीतिकार मानिने प्रचण्ड केही वर्षदेखि बोलीको ठेगान नभएका नेताका रूपमा चिनिन थालेका छन् ।
पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानसेनापति रुकमाङ्गद कटवाललाई खुल्ला मञ्चबाटै ‘को हो त्यो’ भनेर चुनौती दिए । पछि सेनापति र पशुपतिको पुजारी हटाउने निर्णय आफ्नो गलत काम भएको भन्दै पश्चाताप गरे । बोल्ने र विवादमा पर्ने प्रचण्डको चरित्रलाई कतिपयले कमजोरीको रूपमा बुझ्छन् भने प्रचण्ड चाहिँ यसलाई आफ्नो विशेषता ठान्छन् । संविधान सभाको चुनाव हुनु पहिले नै माओवादी सेना र हतियारको विषयमा बोलिएको शक्तिखोरको भाषणको भिडिओ सार्वजनिक भएदेखि प्रचण्डप्रतिको आमधारणा फरक हुन थालेको हो ।

पटक–पटकको विवादित अभिव्यक्ति र कामले प्रचण्डले विश्वसनीयता गुमाउँदै गएका छन् । पछिल्लो पटक अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको खुलासा भएपछि त प्रचण्डको बचेखुचेको साख झनै घटेको छ ।  प्रचण्ड अहिले पनि नेता र कार्यकर्तासँगको भेटमा एमसीसी संशोधन नगरि संसदबाट अनुमोदन हुनै सक्दैन भन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने प्रचण्डले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका छन् । प्रचण्डको दोहोरो चरित्र सार्वजनिक भएलगत्तै उनको सचिवालयले प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको भन्दै बचाउ गर्न खोजेको छ । तर यो विज्ञप्तिमा प्रचण्डको दोहोरो चरित्र झनै छताछुल्ल भएको छ । इमानदार भए प्रचण्डले विना ढाकछोप एमसीसी पास गर्नुपर्छ भन्नु पर्थ्याे, तर त्यसो भन्न प्रचण्डको दोधारे बोली र चरित्रले अहिले पनि दिएन ।

आफ्नो ‘हाइट’ आफैँ घटाउने गरी पटक–पटक प्रचण्डका विवादित अभिव्यक्ति किन सार्वजनिक भइरहेका छन् त ? एउटा कारण त मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवदेखि रामबहादुर थापा बादलसम्म जनयुद्धका सहयात्री नेताहरू आफूसँग नहुँदाको छटपटी पहिलेदेखि नै छँदैछ । अर्को माधव नेपाललगायतका गठबन्धनका नेताहरूको साथमा परैसम्म पुग्छु भन्ने पछिल्लो विश्वास पनि धरमराउन थालेको छ । आउँदो चुनावमा गठबन्धन नहुने हो भने पार्टीले सजिलै जित्ने ठाउँ पहिल्याउनै प्रचण्डलाई सकस छ । माओवादी केन्द्रसँग रुकुम, रोल्पा, कालीकोट, जाजरकोट जस्ता केही जिल्ला छोडेर एक्लै चुनाव जित्न पुग्ने स्थानीय सङ्गठन छैन । त्यसैले आउँदो चुनावको सम्भावित परिणामले प्रचण्डलाई भित्रभित्रै अत्याएको छ । केही निजी स्वभाव, व्यापारिक पृष्ठभूमिका व्यक्तिसँगको उठबस र युद्धमा गरिबका छोरा मारेको अपशाेस अपराधबोधले पनि प्रचण्डभित्र पीडा, कुण्ठा, निराशा, उग्रता र आक्रोश मडारिएको पाइन्छ । यी सबै कारण प्रचण्डका अभिव्यक्ति र कार्यशैली एकपछि अर्को विवादित भइरहेका छन् । एमसीसी प्रकरण त पछिल्लो उदाहरण मात्रै हो । प्रचण्ड भविष्यमा यस्ता समस्यामा झन् जेलिँदै जानेछन् । किनकि, अब प्रचण्डलाई न त ओली र देउवाले विश्वास गर्छन्, न त अमेरिका, चीन र भारतले नै । यो कुराको बोधले प्रचण्डलाई झन्–झन् अविश्वसनीय र दोधारे बनाउँदै लैजानेछ ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६