खोज–अनुसन्धान

रुपन्देहीका १६ पालिकामा यसपाली को को हुन् मुख्य आकांक्षी ?




वुटवल २६ माघ । रुपन्देहीका १६ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी सीट जितेको एमाले देखि लिएर स्वतन्त्र समेतले जितेको स्थानीय तहहरुमा गत वर्ष ७ सय उन्चालिस जना उम्मेदवार थिए । यसपाली पनि त्यो संख्या बढ्न सक्छ अथवा गठबन्धन नै भएछ भने केहि घटन सक्ला । तर यतिबेला चुनावकालागि को को आकांक्षी हुन् भन्ने चर्चा गर्नु सान्दर्भिक रहला । यता स्थानीय तहको निर्वाचन घोषणा भए संगै स्थानीय तहका प्रमुख र उपप्रमुख हुनका लागि आकांक्षीहरुको सक्रियता बढन सूरु भएको छ।
स्थानीय तहका उम्मेदवारका आकांक्षीहरुले बिभिन्न ढंगले सामाजिक सन्जाल मार्फत आफु पालिकाको नेतृत्व लिन चाहेको संकेत दिन थालेका छन्।कतिपय आकांंक्षीहरुले आफैले आगामी नेतृत्वका लागि तयार भएको संकेत सहित सामाजिक सञ्जालमा लेख्न थालेका छन भने कतिपयले आफु निकटस्थहरु मार्फत चर्चा चलाउन थालेका छन्।

यस अघि रुपन्देहीका १६ वटा स्थानीय तहमा सात सय ३९ जनाको उम्मेदवारी उम्मेदवारी परेको थियो भने यसपटक त्यो संख्या बढेर जाने निश्चित छ।१६ वटापालिका भएको रुपन्देहीका ५ वटा नगरपालिका र १ वटा उपमहानगरपालिका मध्ये ४ वटामा प्रमुख र एउटा नगरमा उपप्रमुख सहित २ तिहाई सदस्य जितेको नेकपा एमालेका नेताहरुमा सबैभन्दा बढी नेतृत्वको आकांक्षा देखिएको छ।गएको स्थानीय निर्वाचनमा रुपन्देहीको नेतृत्वदायी नगरको रुपमा रहेको बुटवल उपमहानगरपालिकामा आफ्नो बर्चस्व जमाएको नेकपा एमालेले त्यो बर्चस्वलाई कुनैपनि हालतमा गुम्न नदिने रणनितीमा छ भने नेपाली कांग्रेसले यस पटक जो जस संग सम्झौता गरेर भएपनि खोस्ने दाउमा छ।

अहिले उक्त नगरको नगरप्रमुखका लागि बहालवाला नगरप्रमुख शिवराज सुवेदी पुनः नगरप्रमुखमा दोहोर्याउन चाहन्छन भने बावुराम भटराई, गोपाल राना, सूर्यबहादुर भटराई, उपप्रमुख गोमादेवि आचार्य, पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसी नगरप्रमुखका आकांक्षी देखिएका छन्।बुटवल उपमहानगरमा नेपाली कांग्रेसबाट यसअघि नगरप्रमुखमा पराजित खेलराज पाण्डे, सुरेन्द्र श्रेष्ठ, हरि बहादुर आचार्य, रामेश्वर श्रेष्ठ र चुन्नु प्रसाद पौडेल नगरप्रमुखका आकांक्षी देखिएका छन्। खेलराज पाण्डे यसअघि पराजय भएपनि निरन्तर पार्टी काम र मतदाता संग सक्रिय रहेकोले उनको बिकल्प नभएको कांग्रेस कार्यकर्ताहरु बताउछन्।

रुपन्देहीमा सबैभन्दा बढी मतदाता भएको तिलोत्तमा नगरपालिकामा बहालवाला नगर प्रमुख बासुदेव घिमिरे सकेसम्म प्रतिनिधी सभा ताकेका छन् भने एमाले रुपन्देहीका सहसचिव यज्ञ गैरे र यस अघि नगरकमिटी अध्यक्ष समेत रहेका एमाले रुपन्देहीका पुर्व प्र्रचार बिभाग प्रमुख मोहन चापागाई र उप प्रमुख जगेश्वरी देवी चौधरी नगरप्रमुखका आकांक्षीका रुपमा देखिएका छन।नेपाली कांग्रेसबाट यसअघि पराजित नेता रामकृष्ण खांण नेपाली कांग्रेस रुपन्देहीको सभापती भई सकेकोले उम्मेदवार नबन्दा उनको सहयोगमा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी माधव र रोमणी पाठक नगरप्रमुखका दावेदार देखिएका छन्।सिद्धार्थनगर नगरपालिकामा हरी अधिकारीलाई नगर प्रमुख र उमा काफ्लेलाई उप प्रमुखमा जिताएको एमालेले यसपटकपनि नेतृत्व हातपार्न उम्मेदवार फेर्नु पर्ने दवावमा छ। उपप्रमुख उमा काफ्ले नेकपा एकिकृत समाजवादी तिर लागेको र प्रमुख अधिकारीले नतिजा दिन नसकेपछि उनको बिकल्पको दिनुपर्ने दवाव एमालेलाई छ । सिद्धार्थ नगरका लागि एमाले नेताहरु भरत पोखरेल, हितराज पन्थी, राजेन्द्र पन्थी, नारायणप्रसाद भण्डारी नगरप्रमुखका दावेदारका रुपमा चर्चा चलेको छ।

यसपटक सत्तागठबन्धन कायम राखेरै भएपनि सिद्धार्थनगर खोस्ने दाउमा रहेको नेपाली कांग्रेसबाट यसअघि पराजित उम्मेदवार मात्रिका यादव, सुरेन्द्रजंग थापा र दिपकक्षेत्री न्यौपाने नगर प्रमुखका दावेदार देखिएका छन्।सिद्धार्थ नगरमा निर्णायक शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी संग जसले गठबन्धन गर्न सक्छ उसैले जित हातपार्ने भएकोले पनि राजनितीक दलहरु राप्रपाका नेता सागरप्रताप राणा र दिपक बोहोरालाई मनाएर गठबन्धन गर्ने अवस्था रहन सक्ने देखिन्छ।नेकपा एमालेले नगर प्रमुख उपप्रमुख सहित बहुसंख्यक वडा जितेको सैनामैना नगरपालिकामा एमालेको तर्फबाट बहालवाला नगरप्रमुख चित्र बहादुर कार्कीसंगै मिन प्रसाद पौडेल, खुसीराम चौधरी, नरबहादुर थापा नगरप्रमुखका आकांक्षी देखिएका छन् भने नेपाली कांग्रेसबाट यसअघि पराजित फणिन्द्र शर्मा,कृष्ण पोखरेल र गोबिन्द लम्सालले आकांक्षा देखाएका छन्।

नगरप्रमुख गुमाएर उपप्रमुख सहित दुईतिहाई वडा र वडा सदस्य जितेको नेकपा एमालेले यस पटक देवदह नगरपालिकाको नेतृत्व खोस्ने रणनितीमा रहेको छ। उक्त नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखका लागि ऋषिराम सापकोटा, ध्रुव खरेल उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, यम राना, प्रकाश अर्याल आकांक्षी छन भने नेपाली कांग्रेसबाट नगरप्रमुख हिरा केसी संगै कांग्रेस नगरसभापती गुणाखर भुर्तेल, तारा पराजुली, भबिन्द्र प्रसाद पाण्डे र बासुदेव रिमाल आकांक्षी रहेका छन्।जनमत र सांगठनिक हिसावले कमजोर रहेका कारण सत्तागठबन्धन टिकी रहोस र रुपन्देहीका नगरपालिकाहरुमा बाडेर लिन पाईयोस भन्ने दाउमा रहेको देखिन्छ।

बिगतमा नेपाली कांग्रेसले देवदह नगरपालिका र बुटवल उपमहानगरमा नेकपा माओवादी केन्द्रसंग र तिलोत्तमा नगरपालिकामा जनमुक्ती पार्टी संग गठबन्धन गरेपनि देवदहको नगरप्रमुख बाहेक अन्यत्र नतिजा हात पार्न सकेको थिएन्।कांग्रेससंग गठबन्धन गरेर पाएको उपप्रमुखको उम्मेदवारी पनि हातपार्न नसकेपछि बिच्केको माओवादीले यसपटक केन्द्रीय नेतृत्वले नै मोर्चा बनाएमा रुपन्देहीको कम्तिमा एउटा नगरपालिका भएपनि आफ्नो नेतृत्व कायम गर्न पाईन्छकी भन्ने आशामा देखिन्छ।यता भर्खरै एमालेबाट बाहिरीएर गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजबादीमा संगठन बिस्तारका लागि एमालेकार्यकर्ता तान्ने ध्यानमा भएका कारण अझै को को आकांक्षी भन्ने बहस हुनै पाएको छैन्।

एकिकृत समाजबादीका नेताहरु एमाले र नेकपा माओवादीका स्थानीय स्तरमा पहिचान बनाएका नेताहरुलाई नगरपालिकामा उम्मेदवार बनाउला भन्दै आफ्नो पक्षमा लाग्न फकाई रहेका छन्।मधेसी जनाधिकार फोरममा रहेपनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर मनमोहन चौधरीले जितेको लुम्विनी सांस्कृतीक नगरपालिकामा पुरानै अनुहार बिच प्रतिस्पर्धा हुने देखिन्छ। चौधरी अहिले जनता समाजवादीमा पसेका छन् उनी पनि नगर प्रमुखका आकांक्षी हुन।नेपाली कांग्रेसबाट मोहम्मद सईद खां र सजरुद्धीन खांन आकांक्षी छन्, र नेकपा एमालेबाट अक्रम खां, गोबिन्द ज्ञवाली र सिके गुप्ताले उम्मेदवार हुन आकांक्षा देखाएका छन्।त्यसक्षेत्रमा माओवादी भित्रका प्रभावशाली नेताहरु हजरत बेलाल राजु र यस अघि नगरप्रमुखको उम्मेदवार बनेका हरि बहादुर यादव एमालेमै बसेपछि माओवादी केन्द्रबाट अल्ताफ आलमले मौका पाउने देखिएको छ।

(सयमचक्रको सहयोगमा तयार पारिएको )

प्रकाशित : २६ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६